प्रधानमन्त्री बालेनको दसैँ शुभकामना : सत्य र सुशासनको बाटोमा अघि बढ्न आह्वान

17 October, 2026 101 Views
प्रधानमन्त्री बालेनको दसैँ शुभकामना : सत्य र सुशासनको बाटोमा अघि बढ्न आह्वान
101

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले बडादसैँले विश्वभर छरिएर रहेका नेपाली समुदायलाई एकताबद्ध गर्दै सबैको घरमा उत्सव, उमङ्ग र खुसी ल्याउने विश्वास व्यक्त गरेका छन् ।

प्रधानमन्त्री शाहले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत बडादसैँको शुभकामना व्यक्त गर्दै यस पर्वले सबैलाई सत्यको बाटोमा हिँड्न र सुशासन कायम गर्न प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका हुन् ।

उनले नेपाली समाजमा सदियौँदेखि दसैँको विशेष महत्त्व रहँदै आएको उल्लेख गर्दै यस पर्वलाई एकता, आत्मीयता र पारिवारिक मिलनको सङ्गमका रूपमा व्याख्या गरेका छन् । दसैँले सानालाई माया गर्ने र ठूलालाई आदर गर्ने नेपाली मौलिक परम्परालाई प्रतिबिम्बित गर्ने उनको भनाइ छ ।

विभिन्न विपत्ति र सङ्कटपूर्ण परिस्थितिका बाबजुद नेपालीहरूले धार्मिक, सांस्कृतिक तथा सामाजिक मूल्यमान्यताको संरक्षण गर्दै चाडपर्व मनाउँदै आएको प्रधानमन्त्री शाहले उल्लेख गरेका छन् ।

यस वर्ष रसुवा, नुवाकोट र गोरखालगायतका स्थानमा भएका विनाशकारी घटनाको पीडा ताजै रहेका बेला दसैँ आएको उल्लेख गर्दै उनले ती घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन् । विस्थापित नागरिकको पुनःस्थापनाका लागि सरकारले काम गरिरहेको जानकारीसमेत उनले दिएका छन् ।

प्रधानमन्त्री शाहले दसैँलाई असत्यमाथि सत्य र आसुरी प्रवृत्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा उल्लेख गरेका छन् । यस पर्वले प्रत्येक व्यक्तिलाई आफूभित्र रहेका खराब प्रवृत्तिको पहिचान गरी तिनमाथि विजय प्राप्त गर्न प्रेरणा दिनुपर्ने उनको भनाइ छ । उनले काम, क्रोध, लोभ, ईर्ष्या र अहङ्कारजस्ता प्रवृत्तिमाथि विजय हासिल गर्न सबैलाई शुभकामना दिएका छन् ।

चाडपर्वका बेला पनि बाध्यतावश विदेशमा बस्नुपर्ने नेपालीहरूको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै प्रधानमन्त्री शाहले आर्थिक समृद्धि र नागरिकको सुखद जीविकोपार्जनका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । आर्थिक अभावका कारण दसैँजस्तो महान् पर्व कसैका लागि पनि बोझ बन्न नहुने उनको धारणा छ ।

देशलाई सुशासनको मार्गमा अघि बढाउन सरकार अहोरात्र खटिरहेको उल्लेख गर्दै उनले सत्य र सुशासनको बाटोमा अघि बढ्न माता दुर्गाभवानीको प्रेरणा र कृपा सबैमा रहोस् भन्ने कामना गरेका छन् ।

प्रधानमन्त्री शाहले बडादसैँका अवसरमा सम्पूर्ण नेपालीको आरोग्य, सुख, शान्ति र समृद्धिको कामना गर्दै सबैलाई सभ्य र भव्य रूपमा दसैँ मनाउन आग्रह गरेका छन् ।

Related Post