काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।
बडादसैँका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले दसैँले पारिवारिक मिलन, सामाजिक मेलमिलाप, क्षमा, सद्भाव र भाइचारालाई मजबुत बनाउन महत्वपूर्ण योगदान पुर्याएको बताएका छन् ।
बहुजातीय, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषतायुक्त नेपालमा दसैँले भौगोलिक, सांस्कृतिक र भाषिक विविधताबीचको सामाजिक एकतालाई थप सुदृढ बनाउनुका साथै सांस्कृतिक पहिचान संरक्षण गर्न सहयोग पुर्याएको उनको भनाइ छ ।
राष्ट्रपति पौडेलले विजयादशमीका दिन दुर्गा भगवतीले दानवी शक्तिमाथि र भगवान् रामले रावणमाथि विजय हासिल गरेको धार्मिक मान्यताको स्मरण गर्दै दसैँलाई अन्यायमाथि न्याय र असत्यमाथि सत्यको विजयका रूपमा मनाइने पर्वका रूपमा उल्लेख गरेका छन् ।
दसैँले परिवारका सदस्यबीच पुनर्मिलन, खुसी र आत्मीयता साटासाट गर्ने अवसर प्रदान गर्ने उल्लेख गर्दै उनले यसको पारिवारिक, सामाजिक, धार्मिक, सांस्कृतिक र राष्ट्रिय महत्व रहेको बताएका छन् ।
यसैबीच, देशका विभिन्न भागमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति राष्ट्रपति पौडेलले दुःख व्यक्त गरेका छन् । उनले विपद्मा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् भने घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
बाढीबाट प्रभावित नागरिकको पुनःस्थापना तथा जनजीवन सामान्य बनाउन सबै पक्ष एकताबद्ध भएर अघि बढ्नसमेत राष्ट्रपति पौडेलले अपिल गरेका छन् ।