काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा विद्यार्थी भर्ना सिट निर्धारण गरेको छ। आयोगको २८औँ बैठकले स्नातक, डीएम/एमसीएच तथा एनबीएमएस (सबस्पेसियालिटी) तहका लागि सिट संख्या तोकेको हो।
प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा शुक्रबार सिंहदरबारमा बसेको बैठकले सरकारी मेडिकल कलेजमा चिकित्सा शिक्षाका सिट वृद्धि गर्ने निर्णय गरेको छ।
बैठकमा सहभागी एक सदस्यका अनुसार अघिल्लो शैक्षिक सत्रको तुलनामा यस वर्ष चिकित्सा शिक्षातर्फ समग्र सिट संख्या बढाइएको छ। तर कुन विषय र तहमा कति सिट थप गरिएको हो भन्ने विस्तृत विवरण बैठकमा उपलब्ध नगराइएको उनले बताए।
उनका अनुसार आयोगले निर्धारित मापदण्डका आधारमा सिट संख्या तय गरिएको जानकारी गराए पनि विषय र शैक्षिक संस्थाअनुसारको स्पष्ट विवरण प्रस्तुत गरिएको थिएन।
बैठकमा एमबीबीएस तथा बीडीएसका इन्टर्नलाई उपलब्ध गराइने निर्वाह भत्ताको विषयमा समेत छलफल भएको थियो। शिक्षा तथा खेलकुद मन्त्रालयसँग भएको सम्झौतासम्बन्धी कार्यसूचीमा यस विषयको अध्ययनका लागि आयोगकै मातहतमा कार्यदल गठन गर्ने निर्णय गरिएको बैठकका एक सहभागीले जानकारी दिए।
कार्यदल गठन गर्ने निर्णय भए पनि इन्टर्नको निर्वाह भत्तासम्बन्धी विषयमा भने ठोस निष्कर्ष निस्किएको छैन। कार्यदल गठनको प्रक्रिया आयोगको कार्यकारी समितिमार्फत अघि बढ्न सक्ने उनले बताए।
आयोगका सदस्य सचिव हरि निरौलाले पनि सरकारी शैक्षिक संस्थामा केही सिट वृद्धि गरिएको पुष्टि गरेका छन्। उनका अनुसार यस वर्ष सिट संख्या उल्लेख्य रूपमा नबढे पनि अघिल्लो वर्षको तुलनामा वृद्धि भएको छ। साथै, विभिन्न शैक्षिक कार्यक्रमअन्तर्गत सिट संख्यामा हेरफेरसमेत गरिएको उनले जानकारी दिए।