काठमाडौँ । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषका नीतिको विरोध गर्दै तथा ऋणमुक्तिको माग राख्दै युवाहरूले शुक्रबार काठमाडौंको दरबारमार्गमा प्रदर्शन गरेका छन् ।
‘यो संसार हाम्रै हो’ भन्ने नारासहित आयोजित प्रदर्शनमा ऋण खारेजी, जलवायु न्याय र विद्यमान आर्थिक प्रणालीमा परिवर्तनको माग गरिएको थियो ।
प्रदर्शनकारीले जनताको आवश्यकता, अधिकार र भविष्यभन्दा धन तथा नाफालाई प्राथमिकता दिने आर्थिक प्रणालीले असमानता बढाएको भन्दै त्यसको विरोध गरेका थिए । उनीहरूले जनताको अधिकार र विकासलाई केन्द्रमा राखेर न्यायपूर्ण आर्थिक व्यवस्था निर्माण गर्नुपर्नेमा जोड दिएका थिए ।
प्रदर्शनका क्रममा ‘ऋणको बोझ होइन, न्यायपूर्ण वित्त चाहिन्छ’ र ‘अर्थमन्त्रीज्यू, साथीहरूसँग ऋण होइन, सहयोग माग्नुस्’ लगायतका नारा लगाइएको थियो ।
युवाहरूले अर्थमन्त्री र सरकारसँग ऋणमा निर्भर हुने नीतिको सट्टा जनताको विकास, समृद्धि र जलवायु न्यायका लागि सहयोग जुटाउन माग गरेका छन् ।