‘पोलिटिक्स इज अ डर्टी गेम’, ‘यसमा मलाई कुनै चासो छैन’, यो भाष्य अधिकांश नेपाली मिलेनियल्सहरूको थियो । मिलेनियल्स भन्नाले अहिले ४५ भन्दामुनि र २९ वर्ष भन्दा माथि उमेरको पुस्ता हो । यो पुस्ताका अकिकांश नेपालीले राजनीतिलाई भ्रष्टाचार, नातावाद र अपारदर्शिताको पर्याय ठानिन्थ्यो ।
किनकी, राजनीति फोहोरी खेल नै जस्तो भइसकेको थियो ।
धेरै युवालाई देशको राजनीतिमा के भइरहेको छ, को-को नेतृत्वमा छन्, मन्त्री वा प्रधानमन्त्री को छन् भन्ने कुराको सामान्य जानकारी पनि थिएन । न त त्यसप्रति चासो नै।
राजनीतिक अज्ञानता यति हावी थियो कि टेलिभिजनका अन्तर्वार्ताहरूमा ‘यो मन्त्रीलाई चिन्नुहुन्छ ?’ भन्ने खण्ड नै राखेर प्रश्न सोधिन्थ्यो ।
एउटा प्रशंग रमाइलो तर चोटिलो छ ।
धरानका मेयर हर्क साम्पाङलाई पत्रकार ऋषि धमलाले अर्थमन्त्रीको नाम सोध्दा उनले ‘थाहा छैन’ भनेर जवाफ दिए । त्यसपछि उनको अर्को जवाफ थियो, ‘नाम थाहापाउने गरी काम पनि गर्नुपर्थ्यो । अनि थाहा हुन्थ्यो ।’
यो जवाफ हर्क साम्पाङको मात्र होइन, अधिकांश सेलिब्रेटीको जवाफ पनि उस्तै हुन्थ्यो ।
केवल हास्यास्पद संवाद मात्र थिएन, त्यो नेपालको राजनीतिक कटु वास्तविकता थियो । मन्त्री, नेताहरूको भीआईपी सवारी, आलोपालो सत्ता, असमानता, भ्रष्टाचार र हालीमुहालीलको खेलबाट आजित भएका युवाहरू दिक्क थिए । कुनै समय राजनीतिमा सक्रिय भएका युवाहरू समेत यसबाट टाढिँदै गएका थिए ।
तर, अब परिदृश्य अलि फरक भएको छ । जेन जी पुस्ता, अर्थात् १९९० को दशकको मध्यदेखि २०१० को सुरुवाततिर जन्मिएकाहरूले ‘डर्टी गेम’ को पुरानो ट्यागलाई चुनौती दिएका छन् ।
यो पुस्ता चिया पसलमा गफिएर समय खेर फाल्दैन । न कतै गएर भाषण गर्छ । न त टोलटोल पुगेर भेला हुन बोलाउँछ । यो पुस्ता सामाजिक सञ्जालबाट राजनीतिक खबरदारी गर्छ ।
जब अघिल्लो सोमबार जेनजी सडकमा उत्रिए, यो परिघटनाले भविष्यको सबैभन्दा ठूला हकदार, कर्णधार जेनजी पुस्तामा राजनितिक चेतना बढ्यो ।
गत साताको त्यो आन्दोलन कुनै एक नेतृत्वमा सीमित थिएन । बरु, यो स्वस्फूर्त र सामूहिक जागरण थियो । जुन नेपालले होइन, सारा विश्वले देख्यो । अहिलेको यो पुस्तामा देश राम्रो अरूले होइन, आफूले बनाउने हो भन्ने चेत देखियो ।