प्रमुख सचेतक महरले सरकारले आफ्ना आन्तरिक व्यक्तिहरूलाई चोख्याउन सरकारी संयन्त्रको दुरुपयोग गरेको आरोप लगाए । सेयर र आर्थिक विवादमा मुछिएर राजीनामा दिएका गुरुङलाई सरकारले आफ्नै मातहतमा आयोग गठन गरी सफाइ दिएको भन्दै एमालेले असन्तुष्टि जनाएको छ ।
सञ्चारकर्मीहरूसँग बोल्दै महरले भने, "नेपालीमा एउटा उखान छ— आफैँ धामी, आफैँ बोक्सी । सरकारले अहिले त्यही हर्कत देखाएको छ । गम्भीर प्रश्न उठेपछि आफैँ आयोग बनाउने, आफैँ निर्देशन दिने र सोहीमार्फत चोखिने प्रयास गर्नु सुशासनको भद्दा नमुना हो ।
विशेष गरी विद्युतीय गाडी (BYD) को आयातमा भएको भनिएको कर छली र आर्थिक विधेयकमा करका दरहरू हेरफेर गरिएको विषयलाई एमालेले 'नीतिगत भ्रष्टाचार' र 'राज्य विरुद्धको अपराध' को संज्ञा दिएको छ।
आफूलाई नयाँ र स्वच्छ दाबी गर्ने सरकारले जनताबाट तिरस्कृत पुरानै शैली अपनाएको भन्दै प्रमुख सचेतक महरले यी सम्पूर्ण प्रकरणहरूमा अविलम्ब संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग दोहोर्याएका छन्।
विवादित छविका सुधन गुरुङलाई चोख्याएर गृह मन्त्रालयको चाबी सुम्पिएपछि संसद् र सडक दुवैतर्फ सरकार विरुद्धको मोर्चाबन्दी थप कडा बनाउने प्रतिपक्षी दलहरूको रणनीति देखिन्छ।