जर्मन राज्यसचिव बार्बेल कोफ्लर आज नेपाल आउँदै, भोटेकोशी बाढी प्रभावित क्षेत्रको भ्रमण गर्ने

28 October, 2026 62 Views
जर्मन राज्यसचिव बार्बेल कोफ्लर आज नेपाल आउँदै, भोटेकोशी बाढी प्रभावित क्षेत्रको भ्रमण गर्ने
62

काठमाडौं । जर्मनीको आर्थिक सहयोग तथा विकाससम्बन्धी सङ्घीय मन्त्रालयका संसदीय राज्यसचिव डा. बार्बेल कोफ्लर चारदिने भ्रमणका लागि आज नेपाल आउँदै छिन्। भ्रमणका क्रममा उनले नेपाल–जर्मनी विकास सहकार्य, महिला अधिकार, स्वास्थ्य सेवा र भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिने कार्यक्रम छ।

नेपालस्थित जर्मन दूतावासका अनुसार कोफ्लरले नेपाल सरकारका अधिकारी, नागरिक समाज तथा अन्तर्राष्ट्रिय र स्थानीय साझेदार संस्थाका प्रतिनिधिसँग भेटवार्ता गर्नेछिन्। भेटमा दुई देशबीचको विकास सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल हुनेछ।

जर्मनी सरकारले भोटेकोशी बाढीको प्रतिकार्य तथा पुनःस्थापनाका लागि एक करोड १० लाख ६१ हजार युरो सहयोग उपलब्ध गराएको छ। उक्त सहयोग तत्कालीन मानवीय सहायता, प्रभावित क्षेत्रमा स्वास्थ्य तथा ऊर्जा पूर्वाधारको आपूर्ति र दीर्घकालीन पुनर्निर्माण तथा विकासका काममा परिचालन गरिने जनाइएको छ।

बाढी प्रभावित क्षेत्रको स्थलगत अवस्था बुझ्न कोफ्लर नुवाकोट पनि जानेछिन्। त्यहाँ उनले स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा बाढी प्रभावित नागरिकसँग छलफल गरी राहत, पुनःस्थापना र पुनर्निर्माणका आवश्यकताबारे जानकारी लिनेछिन्।

काठमाडौंमा रहँदा उनले जर्मन विकास सहयोगमा सञ्चालित स्थानीय स्वास्थ्य संस्थाको भ्रमण गर्ने तथा स्वास्थ्य क्षेत्रका सरकारी अधिकारी र नागरिक समाजका प्रतिनिधिसँग छलफल गर्ने कार्यक्रम छ।

दूतावासका अनुसार भ्रमणका क्रममा नेपालको वर्तमान राजनीतिक तथा सामाजिक अवस्था, भावी विकासका प्राथमिकता र चुनौतीबारे पनि विचारविमर्श हुनेछ। छलफलमा गत वर्षको जेनजी आन्दोलन र नेपालको सङ्क्रमणकालीन न्यायका विषयसमेत समेटिनेछन्।

सन् २००४ देखि जर्मन संसद्को सदस्य रहेकी कोफ्लर सन् २०२१ देखि आर्थिक सहयोग तथा विकाससम्बन्धी सङ्घीय मन्त्रीका संसदीय राज्यसचिवका रूपमा कार्यरत छिन्। उनले जर्मनीको द्विपक्षीय तथा बहुपक्षीय विकास नीतिको समन्वय र कार्यान्वयनमा मन्त्रीलाई सहयोग गर्दै आएकी छन्।

यसअघि सन् २०२२ मा पनि नेपाल भ्रमण गरेकी कोफ्लरको यस पटकको भ्रमणले नेपाल र जर्मनीबीच लामो समयदेखि जारी विकास साझेदारीलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

Related Post