काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४, धारापानीमा ट्रक, बस र माइक्रोबस एकआपसमा ठोक्किँदा ११ जना घाइते भएका छन् ।
आज बिहान ८ः४५ बजे सर्लाहीबाट काठमाडौं आउँदै गरेको बस, काठमाडौंबाट मुग्लिनतर्फ जाँदै गरेको ट्रक र बुटवलबाट काठमाडौं आउँदै गरेको माइक्रोबस आपसमा ठोक्किएका हुन् ।
दुर्घटनामा बागमती प्रदेश ०३–००१ ख २७७७ नम्बरको बस, प्रदेश १–०२–००२ ख ०६१६ नम्बरको ट्रक र बागमती प्रदेश ०३–००१ ज १२५९ नम्बरको माइक्रोबस संलग्न थिए ।
दुर्घटनापछि उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ६६ जनाको टोली परिचालन गरिएको छ ।
सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार घाइतेहरूलाई उपचारका लागि स्थानीय अस्पताल तथा कुरिनटारस्थित सशस्त्र प्रहरी बलको ट्रमा सेन्टरमा लगिएको छ ।
दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।