65
धनकुटा । सप्तकोशी नदीमा मोटरबोट दुर्घटना हुँदा बालिकासहित तीन जनाको मृत्यु भएको छ । भोजपुरबाट चतरा जाँदै गरेको मोटरबोट बराहक्षेत्रको त्रिवेणी क्षेत्रमा इन्जिन फेल भएपछि दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक नारायण रञ्जितकारका अनुसार दुर्घटनामा परेका १० जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये पाँच जना घर फर्किसकेका छन् भने एक जनाको उपचार भइरहेको छ ।
दुर्घटनामा एक बालिका, एक पुरुष र एक महिलाको मृत्यु भएको पुष्टि भए पनि उनीहरूको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
घटनापछि मोटरबोटका चालकलाई बराहक्षेत्र प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।