काठमाडौँ । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेको आरोप लागेका श्रीमान् झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । घटनामा उनीहरूका चार वर्षीय छोरा घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डीएसपी ओमप्रकाश खनालका अनुसार गणेशमान चारनाथ नगरपालिका–४, भरतपुर निवासी ३५ वर्षीय उमेश यादव कात्तिक ७ गते राति करिब ९ बजे मिथिला बिहारी नगरपालिका–३, मिथिलेश्वरस्थित ससुराली पुगेका थिए ।
प्रहरीलाई प्राप्त सूचनाअनुसार सोही राति करिब १ः५० बजे उमेशले ३० वर्षीया श्रीमती रिना यादव र उनीहरूसँगै सुतिरहेका चार वर्षीय छोरा सम्राटमाथि धारिलो हतियार प्रहार गरेका थिए ।
सूचना पाएपछि इलाका प्रहरी कार्यालय धनुषाधामबाट प्रहरी निरीक्षक राजेशकुमार शर्माको नेतृत्वमा खटिएको टोली घटनास्थल पुगेको थियो । प्रहरीले रिनालाई घाँटीमा धारिलो हतियारले काटिएको चोटसहित मृत अवस्थामा फेला पारेको थियो । बालक सम्राटको दाहिने तिघ्रामा काटिएको चोट लागेको थियो ।
घाइते बालकलाई स्थानीय क्लिनिकमा प्राथमिक उपचारपछि थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको थियो । प्रहरीका अनुसार बालकको अवस्था सामान्य छ । घटनास्थलबाट प्रहरीले रगत लागेको चक्कुसमेत बरामद गरेको छ ।
श्रीमतीको मृत्यु र छोरामाथि आक्रमणको घटनापछि उमेश घटनास्थलबाट फरार भएका थिए । उनको खोजी गर्ने क्रममा घटनास्थलबाट करिब एक किलोमिटर पश्चिम मिथिला बिहारी नगरपालिका–२ मा सिर्सिया जाने बाटोको दक्षिणतर्फ रहेको आँपको रुखमा झुण्डिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीले रिनाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर पठाएको छ । पहिलो घटनास्थलको मुचुल्का सम्पन्न भए पनि उमेशको शव फेला परेको दोस्रो घटनास्थलको मुचुल्का गर्ने काम जारी रहेको प्रहरीले जनाएको छ । घटनाको कारण खुल्न बाँकी रहेको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।