काठमाडौं । मनाङस्थित गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका दुई जापानी पर्वतारोही मृत अवस्थामा फेला परेका छन्।
ङिस्याङ गाउँपालिका–६ मा रहेको सात हजार ४५५ मिटर अग्लो गङ्गापूर्ण हिमाल आरोहणमा गएका हिदेसुके तानेइशी र तेत्सु हाशिमोताको शव शुक्रबार फेला परेको हो।
प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालका अनुसार काठमाडौँस्थित कस्मो एडभेन्चर कम्पनीमार्फत नेपाली पथप्रदर्शकसहित आरोहणमा गएका उनीहरू गत असोज २९ गतेदेखि सम्पर्कविहीन भएका थिए।
करिब सात हजार ५० मिटरको उचाइमा पुगेपछि उनीहरूसँग सम्पर्क टुटेको थियो। त्यसपछि खोजीका लागि हेलिकप्टर र उद्धार टोली परिचालन गरिएको थियो। खोजीका क्रममा उनीहरूले प्रयोग गरेका झोला तथा आरोहण सामग्री फेला परे पनि तत्काल उनीहरूको अवस्था पत्ता लाग्न सकेको थिएन।
लगातारको खोजीपछि शुक्रबार हिमालको दक्षिणी भागमा करिब छ हजार ३०० मिटरको उचाइमा दुवै आरोहीको शव फेला परेको प्रमुख जिल्ला अधिकारी खनालले जानकारी दिए।
फेला परेका शव काठमाडौँ ल्याउने तयारी भइरहेको छ। आवश्यक परीक्षणपछि नेपालस्थित जापानी राजदूतावाससँग समन्वय गरी शव परिवारलाई बुझाइने जनाइएको छ।