काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदै छन् । पहिलो खेलमा विराटनगर किङ्ग्स र चितवन राइनोज तथा दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्स आमनेसामने हुनेछन् ।
नेपाल क्रिकेट संघ (क्यान)का अनुसार विराटनगर र चितवनबीचको खेल मध्याह्न १२ः३० बजे सुरु हुनेछ । यस्तै, जनकपुर र कर्णालीबीचको दोस्रो खेल अपराह्न ५ बजे हुनेछ ।
चार टोलीमध्ये जनकपुरले यसअघि उपाधि जितिसकेको छ । जनकपुर यसपटक पनि उपाधि रक्षा गर्ने लक्ष्यमा छ भने पहिलो उपाधिको खोजीमा रहेको कर्णाली जित निकाल्ने योजनासहित मैदानमा उत्रनेछ । विराटनगर र चितवन पनि प्रतियोगितामा आफ्नो दाबेदारी बलियो बनाउने लक्ष्यमा छन् ।
यस संस्करणको एनपीएलमा पहिलोपटक डिसिजन रिभ्यु सिस्टम (डीआरएस) लागू गरिएको छ । साथै, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले प्रतियोगितालाई पहिलोपटक अन्तर्राष्ट्रिय मान्यता दिएको छ ।
क्यानले यसपटक पुरस्कार राशि पनि बढाएको छ । प्रतियोगिताको विजेताले एक करोड ५० लाख रुपैयाँ तथा उपविजेताले ८० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।