काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री बालेन शाहले गर्ने भएका छन् । त्रिवि क्रिकेट मैदानमा आज साँझ ५ बजेदेखि एनपीएलका खेल सुरु हुनेछन् । प्रधानमन्त्री शाहले आजै नेपाली क्रिकेटलाई शुभकामना दिँदै प्रतियोगिताको सफलताको कामना गरेका छन् ।
करिब एक महिनासम्म सञ्चालन हुने प्रतियोगिताका लागि आयोजक नेपाल क्रिकेट संघ (क्यान) ले यस संस्करणमा विभिन्न नयाँ व्यवस्था गरेको छ । पहिलो पटक निर्णय समीक्षा प्रणाली (डीआरएस) लागू गरिँदैछ । यसले खेलका विवादास्पद निर्णयको समीक्षा गर्न र अम्पायरको निर्णयमा शुद्धता बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
यस संस्करणमा अन्तर्राष्ट्रिय क्रिकेटमा ख्याति कमाएका विदेशी खेलाडीहरूको सहभागिताले पनि प्रतियोगिताको आकर्षण बढाएको छ । विदेशी स्टार खेलाडीको आगमनसँगै नेपाली खेलाडीले अन्तर्राष्ट्रिय स्तरका खेलाडीसँग प्रतिस्पर्धा गर्ने अवसर पाउनेछन् ।
प्रतियोगितामा आठ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । नेपाली क्रिकेटको व्यावसायिक विकास, खेलाडीको क्षमता अभिवृद्धि र क्रिकेटप्रति दर्शकको आकर्षण बढाउने अपेक्षा गरिएको एनपीएललाई यसपटक थप व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउने लक्ष्य क्यानले लिएको छ । एनपीएलको सुरुवातसँगै अबको करिब एक महिना नेपाली क्रिकेटप्रेमीको ध्यान त्रिवि क्रिकेट मैदानमा केन्द्रित हुने देखिएको छ ।