काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को समग्र बजार मूल्य करिब ८ अर्ब रुपैयाँ पुगेको नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले दाबी गरेका छन् ।
आइतबार आयोजित पत्रकार सम्मेलनमा सचिव खड्काले एनपीएलले नेपाली खेलकुद क्षेत्रमा व्यावसायिक सम्भावना विस्तार गर्नुका साथै ठूलो आर्थिक गतिविधि सिर्जना गरेको बताएका हुन् ।
उनका अनुसार फ्रेन्चाइज टोलीहरूको बिक्री, व्यावसायिक प्रायोजन, प्रसारण अधिकारलगायत विभिन्न व्यापारिक पक्षलाई समेटेर मूल्याङ्कन गर्दा एनपीएलको बजार मूल्य करिब ८०० करोड रुपैयाँ पुगेको हो ।
एनपीएलले नेपाली क्रिकेटलाई व्यावसायिक बनाउने दिशामा महत्वपूर्ण योगदान पुर्याएको क्यानको भनाइ छ । लिगका कारण स्वदेशी तथा विदेशी खेलाडी, प्राविधिक र क्रिकेटसँग सम्बन्धित विभिन्न संघसंस्थाका लागि आर्थिक अवसरसमेत विस्तार भएको छ । एनपीएलको बढ्दो व्यावसायिक आकर्षणले नेपाली क्रिकेटमा निजी क्षेत्रको लगानी, प्रायोजन र प्रसारण बजार विस्तार हुने अपेक्षा गरिएको छ ।