काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो संवादमा आफ्नो संलग्नता अस्वीकार गर्दै पार्टीको अनुशासन आयोगसमक्ष लिखित जवाफ दिएका छन्।
सुनार र एक महिलाबीच भएको भनिएको संवादबारे आयोगले गठन गरेको छानबिन समितिलाई उनले अडियोमा सुनिएको आवाज आफ्नो नभएको दाबी गरेका हुन्।
अनुशासन समितिका उपप्रमुख तथा छानबिन समितिका संयोजक अधिवक्ता हरिचन्द्र भट्टराईले सुनारको इन्कारी पत्र प्राप्त भएको पुष्टि गरेका छन्। उनका अनुसार सुनारले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको आफ्नो धारणा र लिखित जवाफमा प्रस्तुत गरेका विषयहरू समान छन्।
विवादित अडियो सार्वजनिक भएपछि सुनारले उक्त सामग्री कृत्रिम बुद्धिमत्ता (एआई) लगायत प्रविधिको प्रयोग गरेर तयार पारिएको दाबी गरेका थिए। प्रहरीमा भएको भ्रष्टाचारको विषय उठाएपछि आफूलाई निरन्तर निशाना बनाइएको उनको जिकिर छ। उनले सामाजिक सञ्जालमा सार्वजनिक आरोपहरू झुटा भएको र अडियो प्रविधिको दुरुपयोग गरेर बनाइएको दाबी गरेका थिए।
सुनारले आरोप अस्वीकार गरेपछि छानबिन समितिले अब अडियोको प्रामाणिकता जाँच्ने प्रक्रिया अघि बढाएको छ। समितिले अडियो प्रसारण गरेको जनआस्था पत्रिकासँग सम्पादन गर्नुअघिको अडियो मागेर प्राप्त गरिसकेको छ। त्यस्तै, आरोपसँग सम्बन्धित भनिएकी महिलाको अन्तर्वार्ताको अडियो उपलब्ध गराउन न्युज २४ लाई पत्राचार गरिएको समितिले जनाएको छ।
संयोजक भट्टराईका अनुसार समितिले सुरुमा प्राप्त अडियोको आन्तरिक परीक्षण गर्नेछ। त्यसबाट निष्कर्षमा पुग्न कठिन भएमा प्राविधिक परीक्षणका लागि सम्बन्धित निकायसँग सहयोग मागिनेछ। प्राविधिक जाँचपछि सुनारसँग थप सोधपुछ गर्ने तयारी पनि समितिको छ।
अडियोको प्राविधिक परीक्षणमा लाग्ने समयका कारण छानबिनको अन्तिम निष्कर्ष आउन केही ढिलाइ हुन सक्ने समितिले जनाएको छ। सुनारको इन्कारी र महिलाको अन्तर्वार्तामा व्यक्त विचारका कारण अनुसन्धान थप जटिल बनेको समितिको भनाइ छ।
विवादित अडियो सार्वजनिक भएपछि रास्वपाले घटनाबारे चासो देखाउँदै सुनारमाथि आन्तरिक छानबिन गर्न अनुशासन आयोगलाई निर्देशन दिएको थियो। छानबिन टुंगोमा नपुग्दासम्म सुनारलाई सार्वजनिक पदको हैसियतमा औपचारिक कार्यक्रममा सहभागी नहुन पनि पार्टीले निर्देशन दिएको छ।
समितिको प्राविधिक परीक्षण र थप अनुसन्धानपछि मात्रै विवादित अडियोको वास्तविकताबारे निष्कर्ष आउनेछ।