कांग्रेसमा दुई धारको महाधिवेशन अभ्यास, देउवा पक्ष अधिवेशनमा सक्रिय

25 October, 2026 59 Views
कांग्रेसमा दुई धारको महाधिवेशन अभ्यास, देउवा पक्ष अधिवेशनमा सक्रिय
59

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले शनिबार बैतडी जिल्ला अधिवेशन उद्घाटन गरेको छ। बन्द सत्रपछि आज सहमतिमै नयाँ नेतृत्व चयन गर्ने प्रयास भइरहेको नेता जनक भट्टले जानकारी दिएका छन्।

उनका अनुसार जिल्ला सभापतिसहित विभिन्न पदमा आकांक्षी धेरै भएकाले सहमतिका लागि छलफल भइरहेको छ। सुदूरपश्चिममा यसअघि डोटीमा मात्रै जिल्ला अधिवेशन सम्पन्न भई नेतृत्व चयन भएको थियो। डोटीको सभापतिमा बाजीसिंह खड्का (विजय) चयन भएका थिए। प्रदेशका अन्य जिल्लामा भने अधिवेशन हुन बाँकी छ।

कांग्रेसको १५औँ महाधिवेशनका लागि निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले सार्वजनिक गरेको कार्यतालिकाअनुसार जिल्ला अधिवेशन कात्तिक १५ गते गर्ने तय छ। तर, एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा भने कार्यतालिकाभन्दा अगावै अधिवेशन भइरहेका छन्।

१५औँ महाधिवेशन तयारी समितिका संयोजक तथा पूर्वमहामन्त्री शशांक कोइरालाको नेतृत्वमा देउवा पक्षले वडा तहदेखि विभिन्न तहका अधिवेशन अघि बढाइरहेको छ। तयारी समितिअन्तर्गत सचिवालय समन्वय समितिका संयोजक दीपकप्रसाद कुईकेलका अनुसार एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका ३५ जिल्लामध्ये २२ जिल्लामा अधिवेशन सम्पन्न भई नेतृत्व चयन भइसकेको छ।

उनका अनुसार केही जिल्लामा अधिवेशन जारी छ भने दुई वा सोभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा कात्तिक १५ गते अधिवेशन गर्ने तयारी छ।

देउवा पक्षले वडा, पालिका, प्रदेश तथा प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिसहित महाधिवेशन प्रतिनिधि चयनमा सहमतिलाई प्राथमिकता दिएको जनाएको छ। अधिकांश स्थानमा निर्वाचनबिनै नेतृत्व चयन भएको बताइए पनि केही क्षेत्रमा महाधिवेशन प्रतिनिधि चयन गर्न कठिनाइ भइरहेको छ।

देउवा पक्षले १४औँ महाधिवेशनका पदाधिकारी, केन्द्रीय सदस्य, प्रतिनिधिसभा तथा प्रदेशसभा सांसद र २०७९ को स्थानीय निर्वाचनमा रूख चिह्नबाट विजयी उम्मेदवारलाई स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था गरेको छ।

यसैबीच, नेपाली कांग्रेसको संस्थापन पक्षले भने जिल्ला तथा प्रदेश अधिवेशन नगरी १५औँ महाधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्व चयन गरिसकेको छ। संस्थापनइतर पक्षले भने मातहतका सबै तहका अधिवेशन सम्पन्न गरेर मात्रै केन्द्रीय महाधिवेशन गर्ने तयारी गरेको छ।

देउवा पक्षको तयारीअनुसार प्रदेश अधिवेशन मंसिर ४ गते र केन्द्रीय महाधिवेशन मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा गर्ने योजना छ।

गत पुसमा सम्पन्न विशेष महाधिवेशनमा देउवा पक्ष सहभागी भएको थिएन। त्यसपछि साउनमा भएको देउवा पक्षको सम्मेलनले देउवाकै नेतृत्वमा १५औँ महाधिवेशन गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार पूर्वमहामन्त्री शशांक कोइरालालाई तयारीको जिम्मेवारी दिइएको थियो।

कांग्रेस विधानअनुसार देउवा अब सभापतिको उम्मेदवार बन्न पाउने छैनन्। यस्तो अवस्थामा देउवा पक्षको महाधिवेशनमा नयाँ नेतृत्व सहमतिबाट चयन हुन्छ वा प्रतिस्पर्धामार्फत भन्ने अझै स्पष्ट भइसकेको छैन। नेतृत्वका आकांक्षीहरू पनि यस विषयमा खुलेर बोलिसकेका छैनन्।

Related Post