कोशीमा दशैंभर ४१३ दुर्घटना, २२ जनाको मृत्यु; मोरङमा सबैभन्दा धेरै घटना

26 October, 2026 97 Views
कोशीमा दशैंभर ४१३ दुर्घटना, २२ जनाको मृत्यु; मोरङमा सबैभन्दा धेरै घटना
97

काठमाडौं । यस वर्षको दशैं अवधिमा कोशी प्रदेशमा ४१३ वटा सवारी दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ । दुर्घटनामा ३६ जना गम्भीर र ७१० जना सामान्य घाइते भएका छन् ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका अनुसार घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्मको अवधिमा भएका दुर्घटनामा १७ पुरुष र पाँच महिलाको मृत्यु भएको हो । मृतकमध्ये दुई बालिका पनि छन् ।

गत वर्षको दशैं अवधिमा प्रदेशभर २९१ वटा सवारी दुर्घटना हुँदा २६ जनाको मृत्यु भएको थियो । यस वर्ष मृतकको संख्या चार जनाले घटे पनि दुर्घटनाको संख्या भने १२२ ले बढेको छ । घाइते हुनेको संख्या पनि गत वर्षको तुलनामा बढेको छ ।

प्रदेशका १४ जिल्लामध्ये सबैभन्दा धेरै दुर्घटना मोरङमा भएका छन् । निमित्त प्रमुख प्रहरी निरीक्षक विकास थपलियाका अनुसार मोरङमा १७० वटा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने २९१ जना घाइते भएका छन् ।

त्यस्तै, सुनसरीमा ८७ दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । मृतकमध्ये आठ पुरुष र दुई महिला छन् । जिल्लामा १५६ जना घाइते भएका छन् ।

झापामा ८४ वटा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १३९ जना घाइते भएका छन् । उदयपुरमा ३३ दुर्घटनामा चार जनाको ज्यान गएको छ भने ८९ जना घाइते भएका छन् ।

पहाडी जिल्लाहरूमा पनि सवारी दुर्घटना भएका छन् । इलाममा १० दुर्घटना हुँदा २० जना घाइते भएका छन् । पाँचथरमा सात दुर्घटनामा १२ जना, खोटाङमा सात दुर्घटनामा नौ जना, ओखलढुंगामा पाँच दुर्घटनामा सात जना, संखुवासभामा चार दुर्घटनामा छ जना र ताप्लेजुङमा तीन दुर्घटनामा छ जना घाइते भएका छन् ।

दशैं अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि प्रहरीले कारबाहीसमेत गरेको थियो । नियम उल्लङ्घन गर्ने दुई हजार ४५७ सवारीसाधनलाई कारबाही गर्दा २५ लाख २९ हजार रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ ।

यस वर्ष दुर्घटनाको संख्या बढ्नुले चाडपर्वका बेला सडक सुरक्षामा थप सतर्कता आवश्यक रहेको देखाएको छ ।

Related Post