अब उपत्यकाका तीन जिल्लाबाटै अन्य जिल्लाको नागरिकता प्रतिलिपि लिन सकिने

28 October, 2026 50 Views
अब उपत्यकाका तीन जिल्लाबाटै अन्य जिल्लाको नागरिकता प्रतिलिपि लिन सकिने
50

 

काठमाडौं– अन्य जिल्लाबाट नेपाली नागरिकता लिएका नागरिकले अब काठमाडौं उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयबाटै नागरिकताको प्रतिलिपि लिन सक्ने भएका छन्। यस व्यवस्थासँगै प्रतिलिपि लिन नागरिकता जारी भएको जिल्लामै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले गृह मन्त्रालयको परिपत्रअनुसार काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयबाट प्रदेशअनुसार सेवा उपलब्ध गराउने व्यवस्था गरेको हो।

कार्यालयका अनुसार बागमती, गण्डकी र लुम्बिनी प्रदेशका जिल्लाबाट नागरिकता लिएकाले काठमाडौं, कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्लाबाट नागरिकता लिएकाले ललितपुर तथा कोशी र मधेस प्रदेशका जिल्लाबाट नागरिकता लिएकाले भक्तपुर जिल्ला प्रशासन कार्यालयबाट प्रतिलिपि लिन सक्नेछन्।

प्रतिलिपि लिन सम्बन्धित कार्यालयमा निवेदन दिनुपर्नेछ। नागरिकतावाहकको जैविक विवरण राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली र केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणालीमा रहेको अभिलेखसँग हुबहु मिलेमा प्रतिलिपि जारी गरिनेछ।

तर, अभिलेख नभेटिएमा, नाम, थर, जन्ममिति वा अन्य विवरणमा फरक परेमा तथा विवरण सच्याएर प्रतिलिपि लिनुपर्ने अवस्थामा भने नागरिकता जारी भएको साविक जिल्लामै सम्पर्क गर्नुपर्नेछ। पहिलो दृष्टिमै शङ्कास्पद देखिएका नागरिकताको हकमा पनि सम्बन्धित जिल्लामै सम्पर्क गर्न प्रशासनले अनुरोध गरेको छ।

Related Post