विराटनगरमा चोरीको आरोपले चर्किएको विवादपछि ६९ वर्षीय वृद्धको हत्या प्रकरण : तीन जना पक्राउ

28 October, 2026 75 Views
विराटनगरमा चोरीको आरोपले चर्किएको विवादपछि ६९ वर्षीय वृद्धको हत्या प्रकरण : तीन जना पक्राउ
75

 

काठमाडौं । मोरङको विराटनगर महानगरपालिका–६ मा ६९ वर्षीय लालजीप्रसाद गुप्ताको हत्या भएको घटनामा संलग्न रहेको आशङ्कामा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ। चोरीको आरोपलाई लिएर उत्पन्न विवाद घटनाको कारण हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक पुष्पराज मल्लका अनुसार पक्राउ पर्नेमा विराटनगर–६, स्वागतम चोकका ३६ वर्षीय अफरोज आलम तथा १३ वर्षीय भारतीय र १६ वर्षीय नेपाली नाबालक छन्। उनीहरूलाई मङ्गलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।

भारतको वाराणसी स्थायी घर भएका गुप्ता विगत ४० वर्षदेखि विराटनगरमा बस्दै आएका थिए। उनको कात्तिक ६ गते हत्या भएको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार विराटनगर–६ स्थित माता इलेक्ट्रिक वर्कसपबाट पानी तान्ने मोटरको तार चोरी भएको विषयलाई लिएर गुप्ता र आलमबीच विवाद भएको थियो। गुप्ताले चोरीको आरोप सार्वजनिक गरेको विषयलाई लिएर विवाद थप चर्किएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ। सोही विवादसँग सम्बन्धित घटनाक्रमका क्रममा गुप्ताको हत्या भएको हुन सक्ने प्रहरीको प्रारम्भिक निष्कर्ष छ।

घटनाबारे जानकारी पाएपछि प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान अघि बढाएको थियो। प्रहरीले तालिमप्राप्त कुकुर र विज्ञ टोलीसमेत परिचालन गरी प्रमाण सङ्कलन गरेको जनाएको छ।

प्रहरीका अनुसार घटनासँग सम्बन्धित प्रमाणका रूपमा हत्या गर्न प्रयोग भएको आशङ्का गरिएको जिआई पाइप, मृतकले प्रयोग गर्ने रेडमी मोबाइल र शव बेर्न प्रयोग गरिएको कार्पेट बरामद गरिएको छ।

घटनामा पक्राउ परेकाहरूको भूमिका, हत्याको कारण र अन्य सम्भावित पक्षबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्तिहरूमाथि लागेको आरोप अनुसन्धानबाट पुष्टि हुन बाँकी छ।

Related Post