‘अर्नब’ चक्रवातको असर सर्लाहीमा, धान भित्र्याउन किसानलाई सकस

28 October, 2026 66 Views
‘अर्नब’ चक्रवातको असर सर्लाहीमा, धान भित्र्याउन किसानलाई सकस
66

 

काठमाडौं । बङ्गालको खाडीमा विकसित भई भारतको भूभागमा प्रवेश गरेको ‘अर्नब’ चक्रवातको प्रभाव सर्लाहीमा देखिन थालेपछि किसान चिन्तित बनेका छन्। बुधबार दिउँसोदेखि मौसम बदली भएसँगै पाकेको धान भित्र्याउने तयारीमा रहेका किसानलाई वर्षाले बालीमा क्षति पुर्‍याउने चिन्ता बढेको हो।

बुधबार बिहानसम्म घाम लागेको सर्लाहीमा दिउँसोदेखि आकाशमा बादल लागेर मौसम धुम्मिएको छ। जिल्लाको उत्तरी क्षेत्रका लालबन्दी, ईश्वरपुर, हरिवन, हरिपुर र बागमतीलगायत स्थानमा किसानले धान काटेर खेतमै सुकाउन राखेका छन्।

मौसम पूर्वानुमान महाशाखाले वर्षाको सम्भावनाबारे सूचना जारी गरेपछि केही किसानले धान तथा पाकेका अन्य बाली भित्र्याइसकेका छन्। तर, धेरै किसानले मौसमको अवस्था हेरेर मात्र धान काट्ने वा भित्र्याउने तयारी गरेका छन्।

लालबन्दी नगरपालिका–१५, देउरालीका किसान कृष्णराज ठोकरका अनुसार मौसम प्रतिकूल हुने सङ्केत देखिएपछि स्थानीय किसानले धान भित्र्याउने विषयमा सावधानी अपनाएका छन्। चाँडै पाक्ने जातको धान लगाइएका खेतमा अहिले धान पहेँलपुर भएर पाकेको छ।

हरिपुर नगरपालिका–२ का वडाध्यक्ष निलबिक्रम थापाले वर्षाको सूचना पाएपछि केही किसानले धान भित्र्याइसकेको र अन्य किसान मौसमसम्बन्धी थप सूचनाको प्रतीक्षामा रहेको जानकारी दिएका छन्।

चक्रवातको प्रभावले सर्लाहीमा समेत भारी वर्षा हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै स्थानीय तह र प्रशासनले सतर्कता अपनाउन आग्रह गरेका छन्। काटिसकेको धान सुरक्षित स्थानमा राख्न तथा मौसमको पूर्वानुमान र आधिकारिक सूचनाअनुसार कृषि कार्य गर्न किसानलाई अनुरोध गरिएको छ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीका अनुसार सम्भावित विपद् व्यवस्थापनका लागि सम्बन्धित निकायबीच समन्वय गरेर आवश्यक तयारी गर्ने निर्णय भएको छ।

Related Post