नेप्सेमा ३३ अंकको उछाल, कारोबार रकम साढे ७ अर्ब नजिक

28 October, 2026 62 Views
नेप्सेमा ३३ अंकको उछाल, कारोबार रकम साढे ७ अर्ब नजिक
62

 

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजारमा उल्लेख्य सुधार आएको छ। अघिल्लो दिन सामान्य अवस्थामा रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबार ३३.२९ अंकले बढेर २ हजार ६६४.०६ विन्दुमा बन्द भएको हो।

यस दिन सेन्सेटिभ इन्डेक्स ६.३२ अंकले बढेको छ। त्यस्तै, फ्लोट इन्डेक्स २.६२ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स २.३९ अंकले वृद्धि भएका छन्।

नेप्से परिसूचकसँगै बजारमा कारोबार रकम पनि बढेको छ। मंगलबार ५ अर्ब ७९ करोड रुपैयाँको सेयर कारोबार भएकोमा बुधबार ७ अर्ब ४५ करोड ८६ लाख ७७ हजार रुपैयाँबराबरको कारोबार भएको हो।

यस दिन ३४८ वटा स्टकको ६३ हजार ७४४ पटकको कारोबारमा १ करोड ९३ लाख ९७ हजार कित्ता सेयर खरिदबिक्री भएका छन्।

बुधबार बेनी हाइड्रोपावरको सेयर मूल्यमा पुनः सकारात्मक सर्किट लागेको छ। कम्पनीको सेयर मूल्य ७० रुपैयाँले बढेर प्रतिकित्ता ५३६ रुपैयाँ ७० पैसा पुगेको छ। बुटवल पावर कम्पनीको सेयर मूल्य पनि साढे १० प्रतिशतभन्दा बढीले बढेको छ।

त्यस्तै, सुपर खुदी हाइड्रोपावर र एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको सेयर मूल्य ६ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। मूल्य घट्ने कम्पनीहरूको गिरावट भने ३ प्रतिशतभन्दा कम रहेको छ।

कारोबार रकमका आधारमा लिबर्टी इनर्जी कम्पनी अग्रस्थानमा रहेको छ। उक्त कम्पनीको ३२ करोड ५० लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। घलेम्दी हाइड्रोको कारोबार २८ करोड रुपैयाँ नाघ्दा बुटवल पावर कम्पनीको करिब २६ करोड ५० लाख रुपैयाँको सेयर किनबेच भएको छ।

बुधबार कारोबारमा रहेका १३ उपसमूहमध्ये १२ वटाको परिसूचक बढेको छ भने व्यापार उपसमूहमा सामान्य गिरावट आएको छ। जलविद्युत् उपसमूह सर्वाधिक २.०६ प्रतिशतले बढेको छ।

त्यस्तै, बैंकिङ, विकास बैंक, वित्त, होटल तथा पर्यटन, लगानी र जीवन बीमा उपसमूहको परिसूचक पनि १ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। अधिकांश उपसमूहमा देखिएको सुधारले बुधबार समग्र सेयर बजारलाई सकारात्मक दिशा दिएको छ।

Related Post