काठमाडौं । स्पेनको टोलेडो प्रान्तमा दुई उच्च गतिको रेल एकआपसमा ठोक्किँदा ४० भन्दा बढीको मृत्यु भएको छ। दुर्घटनामा दर्जनौँ यात्रु घाइते भएका छन् भने मृतकको संख्या अझै बढ्न सक्ने अधिकारीहरूले बताएका छन्।
स्पेनको सार्वजनिक प्रसारण संस्था आरटीभीई (RTVE) का अनुसार बुधबार बिहान स्थानीय समयअनुसार ८ बजेर ५४ मिनेटमा उर्दा क्षेत्रमा दुर्घटना भएको हो। रेन्फे (Renfe) को एभीई रेल रोकिराखिएको इरियो (Iryo) रेलको पछाडिबाट ठोक्किएको प्रारम्भिक विवरण छ।
दुर्घटनामा तीनवटा रेलका डिब्बा लिकबाट खसेर सडक किनारको भिरालो भागमा पुगेका थिए। दुवै रेलमा गरी ५४४ यात्रु सवार रहेको बताइएको छ। रेन्फेको रेलमा ३९७ जना तथा इरियोको रेलमा १४६ यात्रु र एक शिशु थिए।
घटनापछि उद्धारकर्मी, अग्निनियन्त्रक र स्वास्थ्यकर्मी परिचालन गरिएको छ। घाइतेहरूको उपचारका लागि आसपासका अस्पताललाई तयारी अवस्थामा राखिएको छ। दुर्घटनापछि म्याड्रिडदेखि दक्षिणी एन्डालुसिया क्षेत्र जोड्ने उच्च गतिको रेल सेवा दुवैतर्फ बन्द गरिएको छ।
दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ। प्रारम्भिक विवरणमा रेलको संकेत तथा सुरक्षा प्रणालीसँग सम्बन्धित प्राविधिक समस्या र मानवीय त्रुटिको सम्भावनाबारे चर्चा भए पनि यसको आधिकारिक पुष्टि भइसकेको छैन।
यसअघि सन् २०२६ को जनवरीमा स्पेनको आदामुज क्षेत्रमा दुई रेल ठोक्किँदा ४६ जनाको मृत्यु भएको थियो। पछिल्लो दुर्घटनाले स्पेनको रेल सुरक्षा व्यवस्थामाथि पुनः प्रश्न उठाएको छ।