काठमाडौं । मलेसिया एयरलाइन्सले सन् २०२६ को प्रतिष्ठित World MICE Awards अन्तर्गत ‘विश्वकै उत्कृष्ट MICE एयरलाइन्स’ र ‘एसियाकै उत्कृष्ट MICE एयरलाइन्स’ दुवै उपाधि जित्दै अन्तर्राष्ट्रिय स्तरमा आफ्नो उत्कृष्टता प्रमाणित गरेको छ।
बैठक, प्रोत्साहनमूलक भ्रमण, सम्मेलन तथा प्रदर्शनी (MICE) पर्यटन क्षेत्रमा उत्कृष्ट सेवा, प्रभावकारी व्यवस्थापन र व्यावसायिक यात्रुका लागि प्रदान गर्दै आएको सुविधाको कदरस्वरूप एयरलाइन्सलाई उक्त सम्मान प्रदान गरिएको हो। यस उपलब्धिले कर्पोरेट तथा व्यावसायिक यात्राका लागि मलेसिया एयरलाइन्सलाई अझ विश्वसनीय र प्राथमिकताप्राप्त साझेदारका रूपमा स्थापित गरेको कम्पनीले जनाएको छ।
मलेसिया एयरलाइन्सले सन् २०२६ मा मलेसियामा आयोजित NEXT Awards मा समेत ११ वटा प्रतिष्ठित पुरस्कार हात पारेको जानकारी दिएको छ। तीमध्ये ‘ब्रान्ड अफ द इयर ग्रान्ड प्रिक्स’, ‘मोस्ट इनोभेटिभ मार्केटिङ टिम अफ द इयर’ तथा ‘गोल्ड’ अवार्ड विशेष उल्लेखनीय छन्।
कम्पनीका अनुसार यी सम्मानले ब्रान्डको सशक्त पहिचान, सिर्जनात्मक सोच, नवीनतम मार्केटिङ रणनीति र बजार प्रवर्द्धनमा हासिल गरेको उल्लेखनीय सफलतालाई प्रतिबिम्बित गर्छन्। साथै, यात्रु, कर्पोरेट ग्राहक तथा व्यावसायिक साझेदारसँगको सम्बन्धलाई अझ गहिरो बनाउँदै MICE पर्यटन क्षेत्रमा नयाँ सम्भावना र अवसर विस्तार गर्ने लक्ष्य कम्पनीले लिएको छ।
मलेसिया एयरलाइन्सका प्रमुख वाणिज्य अधिकृत डेरनेसिह असेन्द्रनले व्यापारिक तथा कर्पोरेट साझेदारहरूको निरन्तर विश्वास, साथ र सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि उत्कृष्ट सेवा, नवीनता र प्रभावकारी सहकार्यलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन्।