फ्रान्समा प्रदर्शन चर्किएपछि ७० हजार सुरक्षाकर्मी परिचालन गरिने

24 October, 2026 69 Views
फ्रान्समा प्रदर्शन चर्किएपछि ७० हजार सुरक्षाकर्मी परिचालन गरिने
69

काठमाडौं । फ्रान्समा पछिल्लो समय प्रदर्शनका क्रममा हिंसा र लुटपाटका घटना बढेपछि सरकारले यस सप्ताहान्तमा देशभर करिब ७० हजार सुरक्षाकर्मी परिचालन गर्ने भएको छ ।

विद्यालयको वातावरण र शैक्षिक अवस्थाप्रति असन्तुष्टि जनाउँदै माध्यमिक तहका विद्यार्थीहरूले सुरु गरेको आन्दोलन देशव्यापी बनेको हो । प्रदर्शनमा महँगी र बढ्दो जीवनयापन खर्चप्रतिको जनअसन्तुष्टि पनि जोडिएपछि अवस्था थप तनावपूर्ण बनेको छ ।

पेरिसमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री लरेन्ट नुनेजले शनिबारका लागि करिब ७० हजार सुरक्षाकर्मी परिचालन गरिने जानकारी दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत हिंसा र लुटपाटका लागि उक्साउने सन्देश फैलिरहेको भन्दै सम्भावित अशान्तिप्रति सतर्क रहन आग्रह गरेका छन् ।

राष्ट्रपति इमानुएल म्याक्रोनको कार्यकाल अन्त्यतिर पुग्दै गर्दा र नयाँ निर्वाचन हुन छ महिना बाँकी रहेको अवस्थामा आन्दोलन चर्किएको हो । हालैको एक सर्वेक्षणमा अतिदक्षिणपन्थी नेतृ मरिन ले पेन राष्ट्रपतीय प्रतिस्पर्धामा अगाडि देखिएको उल्लेख गरिएको छ ।

यसैबीच, ले पेन नेतृत्वको नेसनल ¥याली (आरएन) पार्टीले यस सप्ताहान्तमा ओर्लियन्स सहरमा महाधिवेशन आयोजना गर्दैछ । कार्यक्रममा हजारौँ समर्थक सहभागी हुने अपेक्षा गरिएको छ । सोही सहरमा पार्टीविरुद्ध प्रदर्शनको तयारीसमेत भइरहेकाले सम्भावित झडप रोक्न स्थानीय प्रशासनले सुरक्षा सतर्कता बढाएको छ ।

शुक्रबार राष्ट्रपति म्याक्रोनले माध्यमिक विद्यालयका विद्यार्थी प्रतिनिधिहरूसँग छलफल गरेका थिए । तर, सरकारले माग सम्बोधन गर्ने ठोस प्रस्ताव नल्याएको भन्दै विद्यार्थी प्रतिनिधिहरूले आन्दोलन जारी राख्न आफ्ना सहपाठीहरूलाई आह्वान गरेका छन् ।

Related Post