काठमाडौं । भारतको आन्ध्र प्रदेशको तटीय क्षेत्रमा चक्रवात अर्नबले असर पुर्याएपछि ८९ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। बुधबार बिहान तटमा प्रवेश गरेको चक्रवातका कारण तीव्र हावाहुरी र भारी वर्षा हुँदा जनजीवन प्रभावित भएको छ।
राज्यको विपद् व्यवस्थापन प्राधिकरणका प्रमुख प्रखर जैनका अनुसार तटमा प्रवेश गर्नुअघि केही कमजोर बने पनि चक्रवातको हावाको गति प्रतिघण्टा १८५ किलोमिटरसम्म पुगेको थियो।
चक्रवातका कारण आन्ध्र प्रदेशका विभिन्न तटीय जिल्लामा भारीदेखि अति भारी वर्षा भएको छ। यो भित्री भूभागतर्फ अघि बढ्दै जाँदा थप कमजोर हुने र हावाको गति प्रतिघण्टा ११० किलोमिटरसम्म घट्ने अनुमान गरिएको छ। घटनामा मानवीय क्षति भए–नभएकोबारे तत्काल स्पष्ट विवरण सार्वजनिक भएको छैन।
भारतीय मौसम विभागले आन्ध्र प्रदेशको तटीय क्षेत्र र छिमेकी राज्य ओडिसाका केही भागमा आगामी चार घण्टासम्म तीव्र हावाहुरी र भारी वर्षाको सम्भावना रहेको चेतावनी दिएको छ। विभागका प्रमुख मृत्युञ्जय महापात्रका अनुसार चक्रवातको अग्रभाग जमिनमा प्रवेश गरिसकेको छ भने तट पार गर्ने प्रक्रिया पूरा हुन करिब चार घण्टा लाग्ने अनुमान छ।
बङ्गालको खाडीमा विकसित अर्नब मङ्गलबार रातिसम्म अत्यन्त शक्तिशाली चक्रवाती आँधीमा परिणत भएको थियो। त्यसपछि यसको बाहिरी प्रभाव आन्ध्र प्रदेशको तटीय क्षेत्रमा देखिन थालेको थियो। चक्रवातले पूर्वानुमान गरिएभन्दा चाँडै तट पार गरेको अधिकारीहरूले बताएका छन्।
जोखिमलाई ध्यानमा राख्दै राज्यका तटीय जिल्लामा उच्च सतर्कता अपनाइएको छ। बाढीको सम्भावना रहेका तल्लो भूभागका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ भने खराब मौसमका कारण केही रेल सेवासमेत रद्द गरिएका छन्।
राज्यको विपद् व्यवस्थापन प्राधिकरणका अनुसार चक्रवातको सम्भावित मार्गमा एक करोड २० लाखभन्दा बढी मानिस बसोबास गर्छन्। प्रेस ट्रस्ट अफ इन्डियाका अनुसार जोखिम व्यवस्थापनका लागि २० जिल्लामा दुई हजारभन्दा बढी चक्रवात आश्रयस्थल तयार पारिएका छन्। जोखिममा रहेका बासिन्दालाई मोबाइलमार्फत आपत्कालीन चेतावनीसमेत पठाइएको छ।
अधिकारीहरूका अनुसार तटीय क्षेत्रमा ३० हजारभन्दा बढी माछा मार्ने डुङ्गालाई सुरक्षित राखिएको छ। उद्धार तथा स्वास्थ्य सहायता उपलब्ध गराउन करिब एक हजार १०० स्वास्थ्य टोली परिचालन गरिएको छ।
यता, छिमेकी ओडिसा राज्यले पनि चक्रवातबाट प्रभावित हुन सक्ने क्षेत्रका करिब ४८ हजार मानिसलाई सुरक्षित स्थानमा सार्ने तयारी गरेको छ।