काठमाडौं । लाङटाङ हिमालको उत्तरी क्षेत्रमा हिमचट्टान खसेर बनेका दुईमध्ये हाल बाँकी रहेको ताल तत्काल जोखिमपूर्ण अवस्थामा नरहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका प्रमुख विनोद पराजुलीका अनुसार चिनियाँ टोलीले गरेको अवलोकनबाट माथिल्लो तालमा पानीको सतह केही बढे पनि हालसम्म खतराको तहमा नपुगेको जानकारी प्राप्त भएको छ।
हिमचट्टान खसेपछि लाङटाङ क्षेत्रको माथिल्लो भागमा पहिलो खाल्डो बनेको थियो भने ल्हेन्दे खोलाको माथिल्लो क्षेत्रमा अर्को खाल्डो बनेको थियो। चिनियाँ टोलीले खोलाको छेउमा बनेको ताललाई ‘ब्यारियर लेक वान’ र माथिल्लो भागमा रहेको ताललाई ‘ब्यारियर लेक टु’ नाम दिएको छ।
पराजुलीका अनुसार तल्लो भागमा बनेको तालबाट लगभग सबै पानी बाहिरिएपछि अहिले त्यहाँ पानी जम्मा भएको छैन। त्यसैले उक्त तालबाट तत्काल जोखिम नरहेको उनले बताए। माथिल्लो तालमा भने पानीको सतह केही बढेको भए पनि अहिलेसम्म खतराको तहमा नपुगेको चिनियाँ टोलीको जानकारी छ।
चिनियाँ टोलीले आफ्नो भूभागबाट ल्हेन्दे खोला आसपासको नेपाली भूभागको समेत निरन्तर अवलोकन गरिरहेको छ। सोही क्रममा तालमा पानीको अवस्था र जोखिमबारे नेपाली पक्षलाई नियमित जानकारी दिइरहेको पराजुलीले बताए।
माथिल्लो क्षेत्रमा रहेको तालको क्षेत्रफल करिब ०.१९ वर्गकिलोमिटर रहेको छ। पछिल्लो समय पानीको सतह करिब दुई मिटर बढेपछि त्यहाँ झण्डै ६ लाख घनमिटर पानी जम्मा भएको अनुमान गरिएको छ।
पराजुलीका अनुसार चिनियाँ टोलीले तालको अवस्थाबारे निरन्तर सूचना उपलब्ध गराइरहेको छ। अहिलेसम्म प्राप्त विवरणअनुसार तालको पानीका कारण तत्काल जोखिम नरहेको उनीहरूको सुझाव छ।
गत १० भदौमा रसुवामा आएको बाढीपछि लाङटाङ हिमालको उत्तरी भागमा नेपाल–चीन सीमाना नजिकै दुईवटा ताल बनेका थिए। त्यसको चार दिनपछि तल्लो भागमा बनेको ताल फुटेर पानी बग्दा भोटेकोशीमा पुनः बाढी आएको थियो। उक्त घटनापछि तल्लो ताल रित्तिएको पराजुलीले जानकारी दिए।