काठमाडौँ। चीनको तिब्बत स्वायत्त क्षेत्रले बाढी प्रभावित क्षेत्रमा प्रयोग गर्न नेपाललाई दुईवटा बेलीब्रिजका सामग्री हस्तान्तरण गरेको छ।
शुक्रबार ल्हासामा भएको कार्यक्रममा ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र तिब्बत स्वायत्त क्षेत्रको विदेश मामिला कार्यालयका उपमहानिर्देशक ओयाङ झिबिङले हस्तान्तरणसम्बन्धी प्रमाणपत्रमा हस्ताक्षर गरेका थिए।
बाढीबाट क्षतिग्रस्त क्षेत्रमा पुल निर्माण गर्न नेपाली महावाणिज्यदूतावासले चीनसँग ३० वटा बेलीब्रिज माग गरेको थियो। त्यसैअनुसार चीनले पहिलो चरणमा १०० मिटर लम्बाइका दुईवटा बेलीब्रिजका सामग्री उपलब्ध गराएको हो।
ती सामग्री शुक्रबार नै माथिल्लो मुस्ताङको कोरला (लिजी) नाकामा आइपुगेका छन्। नेपाली पक्षले शनिबार सामग्री बुझ्नेछ।
पुल जडानका लागि चीनले प्राविधिक टोलीसमेत नेपाल पठाउने भएको छ। चिनियाँ प्राविधिकहरू केही समयमै नेपाल आउने महावाणिज्यदूतावासले जनाएको छ।
बेलीब्रिजका सामग्रीमा बेली प्यानल, बेली पिन, डेकिङ प्यानल, स्टिल प्लेट, बीम, च्यानल स्टिल, पाइप तथा अन्य आवश्यक सामग्री रहेका छन्।