लेदो र भग्नावशेष हटाउन हेभी मेसिन, त्रिशूली–३ ‘बी’ मा खोजी तीव्र

लेदो र भग्नावशेष हटाउन हेभी मेसिन, त्रिशूली–३ ‘बी’ मा खोजी तीव्र
60

काठमाडौं । भदौ १० गतेको भोटेकोशी–त्रिशूली बाढीमा परेर माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाबाट सम्पर्कविहीन भएका १७८ जनाको खोजीका लागि तीन वटा ठूला एस्काभेटर र एउटा ब्याकहो लोडर आयोजनास्थलमा पुर्‍याइएको छ। बाढीपछि आयोजनामा कार्यरत १९१ जना सम्पर्कविहीन भएकामा निर्माण कम्पनी फेवा कन्स्ट्रक्सनका १३ जना सम्पर्कमा आएपछि अहिले १७८ जना अझै बेपत्ता छन्।

ठूला मेसिन आयोजनास्थलसम्म लैजान कठिन भएपछि यसअघि साना एस्काभेटरबाट मात्रै बाढीले पुरिएको क्षेत्रमा उत्खनन भइरहेको थियो। अडिट तथा मुख्य सुरुङ सफा गरेपछि अहिले ठूला एस्काभेटर र ब्याकहो लोडर प्रयोग गरेर लेदो, माटो र ठूला ढुंगा हटाउँदै खोजी तीव्र पारिएको छ।

बाढीले आयोजनाको कार्यालय तथा ६ वटा आवासीय भवन पुरिएका छन्। नेपाली सेना र आयोजनाका कर्मचारीले सुरुङतर्फ पनि खोजी गरिरहेका छन्। यसअघि टोली सुरुङभित्र करिब १.७ किलोमिटरसम्म पुगेको र एउटा गाडी फेला परेको प्रधानमन्त्री बालेन्द्र शाहले बताएका थिए।

तर आयोजनास्थलमा ठूलो मात्रामा जमेको लेदो, माटो र ढुंगाका कारण खोजी अझै चुनौतीपूर्ण छ। परिवारहरूले भने उद्धारमा थप तीव्रता दिन सरकारसँग माग गर्दै आएका छन्। पछिल्लो रिपोर्टअनुसार १७८ जना अझै सम्पर्कविहीन रहेकाले उनीहरूको अवस्था पत्ता लगाउन हेभी उपकरणसहित खोजी जारी छ।