काठमाडौं । भारतको मध्य प्रदेशस्थित सागर जिल्लाको बाँदा क्षेत्रमा नक्कली मदिरा सेवनका कारण पछिल्ला केही दिनमा कम्तीमा १५ जनाको मृत्यु भएको छ। घटनापछि सयभन्दा बढी व्यक्ति बिरामी परेका छन्।
बिरामीमध्ये केहीको अवस्था गम्भीर रहेको सरकारी अधिकारीहरूले बताएका छन्। प्रभावितहरू आसपासका विभिन्न गाउँका बासिन्दा रहेको जनाइएको छ।
नक्कली मदिरा सेवनपछि प्रभावितहरूमा बान्ता हुने, चक्कर लाग्ने तथा धमिलो देखिनेजस्ता समस्या देखिएको छ। केही बिरामीमा मिर्गौलासम्बन्धी समस्या समेत देखिएपछि चिकित्सकहरूले मदिरामा रहेको मिथाइल अल्कोहल ९मेथानोल० का कारण विषाक्तता भएको आशंका गरेका छन्।
घटनापछि स्थानीय प्रहरीले अनुसन्धान अघि बढाएको छ। प्रहरीका अनुसार घटनामा संलग्न भएको आरोपमा कम्तीमा २० जनाविरुद्ध उजुरी परेको छ भने १० जना पक्राउ परिसकेका छन्।
नक्कली मदिराको स्रोत, उत्पादन तथा वितरणमा संलग्न व्यक्तिको पहिचानका लागि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। दोषी पाइएकामाथि कडा कानुनी कारबाही गरिने अधिकारीहरूको भनाइ छ।