नागढुंगा–भरतपुर सडक ठप्प, क्षतिको विवरण संकलन हुँदै

26 August, 2026 5 Views
नागढुंगा–भरतपुर सडक ठप्प, क्षतिको विवरण संकलन हुँदै
5

काठमाडौं । रसुवाबाट आएको भोटेकोशी नदीको बाढीले धादिङतर्फको राजमार्ग क्षेत्र प्रभावित पारेपछि पृथ्वी राजमार्गअन्तर्गत काठमाडौंको नागढुङ्गादेखि चितवनको भरतपुरसम्मको सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ।

केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अविनारायण काफ्लेका अनुसार बाढीको प्रभाव धादिङको राजमार्ग क्षेत्रमा फैलिँदै गएकाले जोखिमलाई मध्यनजर गर्दै नागढुङ्गा र भरतपुर दुवै तर्फबाट सवारी साधन सञ्चालनमा रोक लगाइएको हो।

भोटेकोशीमा आएको बाढीले तटीय क्षेत्रमा रहेका दर्जनौँ बस्ती तथा बजार प्रभावित हुनुका साथै ठूलो क्षति पुर्‍याएको प्रहरीले जनाएको छ।

बाढी प्रभावित तथा जोखिममा रहेका तटीय क्षेत्रका बासिन्दाको उद्धारका लागि काठमाडौं उपत्यकाबाट विपद् व्यवस्थापनमा खटिने प्रहरी टोली प्रभावित क्षेत्रतर्फ परिचालन गरिएको डीआईजी काफ्लेले जानकारी दिए।

प्रहरीले बाढी प्रभावित नदी तथा तटीय क्षेत्रमा अनावश्यक आवतजावत नगर्न र उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

Related Post