नयाँ पुस्ताको आशा : बालेन शाह

20 January, 2026 414 Views
नयाँ पुस्ताको आशा : बालेन शाह
414

राजनारायण यादव, रौतहट । नेपालको राजनीति आज एउटा निर्णायक मोडमा उभिएको छ। दशकौँदेखि दोहोरिँदै आएको सत्ता अभ्यास, उही अनुहारको निरन्तर पुनरावृत्ति, अस्थिर सरकार, बढ्दो बेरोजगारी, मौलाउँदै गएको भ्रष्टाचार र निराशाको चक्रले आजको युवा पुस्तालाई गहिरो प्रश्न गर्न बाध्य बनाएको छ— के यही राजनीति हो ? के यही भविष्य हो ? जनताको नाममा शासन गर्ने तर जनताकै जीवन नबदल्ने यो प्रणाली अब कति समय सहन सकिन्छ ? यही प्रश्नको उत्तर खोज्ने क्रममा नेपाली समाजमा पछिल्ला वर्षहरूमा एउटा नाम निरन्तर चर्चाको केन्द्रमा छ— बालेन शाह। उनी केवल एउटा व्यक्ति होइनन्, उनी आजको पुस्ताको असन्तुष्टि, अपेक्षा र परिवर्तनको चाहनाको प्रतीक बन्दै गएका छन्।

बालेन शाहको पूरा नाम बलेंद्र शाह हो। उनको जन्मभूमि महोतारी जिल्ला हो, जहाँ मधेसको सामाजिक–सांस्कृतिक चेतना, संघर्ष र विविधता घुलमिल भएर बनेको समाज छ। उनी एक शिक्षित, संस्कारयुक्त र राजनीतिक चेतना बोकेको परिवारमा जन्मिएका हुन्। बाल्यकालदेखि नै अध्ययन, कला र समाजप्रतिको चासोले उनलाई अरूभन्दा फरक बनायो। उनको सोच, व्यवहार र अभिव्यक्तिमा एउटा स्पष्टता देखिन्छ— उनी अनावश्यक भाषण, आरोप–प्रत्यारोप र खोक्रा आश्वासनमा विश्वास गर्दैनन्, बरु काम गरेर देखाउने राजनीतिमा विश्वास गर्छन्। यही विशेषताले उनलाई परम्परागत राजनीतिभन्दा अलग पहिचान दिन सफल बनायो।

राजनीतिमा आउनु अघि बालेन शाह र्‍यापरका रूपमा परिचित थिए। उनका गीतहरू मनोरञ्जनका साधन मात्र थिएनन्, ती सामाजिक दस्तावेज थिए। भ्रष्टाचार, राजनीतिक ढोंग, सामाजिक अन्याय, युवा पुस्ताको पीडा र व्यवस्थाप्रतिको आक्रोश उनका गीतमा स्पष्ट रूपमा अभिव्यक्त हुन्थ्यो। संगीत उनको माध्यम थियो, सन्देश उनको उद्देश्य। यही कलात्मक चेतनाले उनलाई समाजको गहिरो अध्ययनतर्फ डोर्‍यायो र अन्ततः राजनीतिमा सक्रिय भूमिकामा ल्यायो। उनले महसुस गरे— केवल आलोचना गरेर होइन, प्रणालीभित्र गएर परिवर्तन सम्भव छ।
यही सोचसहित बालेन शाह पहिलो पटक काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवार बने। न ठूला पार्टीको आड, न बलियो संगठनात्मक संरचना, न अर्बौँ खर्च गर्ने सामर्थ्य— उनको साथमा थियो त केवल स्पष्ट भिजन, ठोस एजेन्डा र आत्मविश्वास। धेरैले उनलाई हल्का रूपमा लिए, केहीले त सम्भावनै नदेखे। तर उनले जनतामाझ गएर एउटै कुरा भने— “म भाषण होइन, काम देखाउँछु।” निर्वाचन परिणामले देखायो कि जनता अब नाराभन्दा काम खोजिरहेका थिए।
मेयरमा निर्वाचित भएपछि बालेन शाहले व्यवहारमै प्रमाणित गरे— नेतृत्व भाषणले होइन, परिणामले चिनिन्छ। उनको कार्यकालमा काठमाडौं महानगरपालिकाले दशकौँदेखि जकडिएको जडता तोड्न थाल्यो। सडक, गल्ली, ढल, पाउवा, पोखरी निर्माण जस्ता आधारभूत पूर्वाधार सुधारदेखि लिएर सार्वजनिक जग्गा अतिक्रमणमुक्त गर्ने अभियानसम्म उनले कठोर निर्णय लिए। करिब १५० रोपनीभन्दा बढी सरकारी जग्गा कानुनअनुसार फिर्ता ल्याइयो। यस क्रममा उनले कसैलाई काखा कसैलाई पाखा गरेनन्। शक्तिशाली व्यापारीदेखि सामान्य व्यक्तिसम्म सबैका लागि कानुन समान हुनुपर्छ भन्ने सन्देश व्यवहारमै दिए।

महानगरभित्रका सबै वडामा एम्बुलेन्स सेवा विस्तार, गरिब, असहाय, सुकुम्बासीका लागि अस्पतालमा १० प्रतिशत निःशुल्क उपचार नीति, प्रत्येक वर्ष करिब २० हजार गरीब, असहाय, अपांग, मधेसी, थारु तथा सीमान्तकृत समुदायका विद्यार्थीलाई छात्रवृत्ति— यी सबै कार्यक्रमहरूले बालेन शाहलाई केवल प्रशासक होइन, सामाजिक उत्तरदायित्व बोकेको नेता बनायो। यही कारण उनी आज नयाँ पुस्ताका लागि आदर्श नेतृत्वको उदाहरण बनेका छन्।
बालेन शाहको राजनीतिमा सबैभन्दा महत्वपूर्ण र रोचक पक्ष के हो भने उनले कहिल्यै पार्टीको झोले बन्ने बाटो रोजेनन्। उनले स्पष्ट रूपमा सन्देश दिए— विकास गर्न पार्टी होइन, भिजन, इमानदारी र इच्छाशक्ति चाहिन्छ। यो सन्देश आज लाखौँ युवाको मनमा गहिरोसँग बसेको छ। पार्टीको झन्डा बोकेर होइन, सिद्धान्त बोकेर राजनीति गर्न सकिन्छ भन्ने विश्वास बालेनले जगाएका छन्।

नेपालको राजनीतिक यथार्थ हेर्दा जनताको निराशा किन गहिरिँदै गयो भन्ने बुझ्न गाह्रो छैन। देशले १०४ वर्ष राणा शासन र करिब २४० वर्ष राजतन्त्र भोग्यो। शासन व्यवस्था बद्लिँदै गयो, तर आम नागरिकको जीवनस्तर खासै सुध्रिएन। २०५१ सालपछि माओवादी आन्दोलन आयो। जनताले ठूलो आशा गरे— अब परिवर्तन हुन्छ, अब न्याय हुन्छ। राजतन्त्र हट्यो, गणतन्त्र आयो, राष्ट्रपति प्रणाली स्थापना भयो। कानुनी रूपमा जनता सार्वभौम भए, तर व्यवहारमा सत्ता केही सीमित व्यक्तिकै वरिपरि घुमिरह्यो। पछिल्ला १५ वर्षमा देशले देख्यो— तीन जना नेता घुमी–घुमी प्रधानमन्त्री बन्ने परम्परा, ३० वर्षमा ३५ प्रधानमन्त्री, १४ वर्षमा १५ सरकार। सधैँ गठबन्धन, फुट, जुट। स्थायित्वको अभावले देशलाई नीतिगत निर्णय गर्नै नसक्ने अवस्थामा पुर्‍यायो। बेरोजगारी बढ्दै गयो, शिक्षा र स्वास्थ्य प्रणाली कमजोर हुँदै गयो, भ्रष्टाचार संस्थागत जस्तै बन्यो, र देश वैदेशिक ऋणमा झन् झन् निर्भर हुँदै गयो। यसको प्रत्यक्ष असर जनताको मनोविज्ञानमा पर्यो— निराशा, आक्रोश र असन्तुष्टि। यही असन्तुष्टिको विस्फोटको रूपमा Gen Z युवा पुस्ता सडकमा उत्रियो। उनीहरूका मुख्य मागहरू स्पष्ट थिए— प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रणाली, अनावश्यक प्रदेश संरचना खारेज, र भ्रष्टाचारको अन्त्य। तर सरकारको गलत निर्णयले आन्दोलन झन् चर्कियो। सामाजिक सञ्जाल बन्द गरियो, जसले आगोमा घिउ थप्ने काम गर्‍यो। भदौ २३–२४ का घटनाले देशलाई झस्कायो। सरकारी भवन, सवारी साधन, कार्यालयमा आगजनी भयो। राज्य संयन्त्र लगभग नियन्त्रणबाहिर पुग्यो। यही कठिन र संवेदनशील घडीमा Gen Z आन्दोलनले बालेन शाहलाई प्रधानमन्त्री बन्न प्रस्ताव गर्‍यो। यो प्रस्ताव बालेनको लोकप्रियताको चरम बिन्दु थियो। तर उनले सत्ता लोभ देखाएनन्। उनले तत्काल प्रधानमन्त्री बन्नु भन्दा देशलाई स्थिरतामा लैजानु प्राथमिक ठाने। त्यसैले उनले पूर्व प्रधानन्यायाधीश सुषिला कार्कीलाई नागरिक सरकारको नेतृत्व गर्न सिफारिस गरे। यो निर्णयले बालेन शाहलाई केवल लोकप्रिय होइन, परिपक्व र जिम्मेवार नेता पनि प्रमाणित गर्‍यो।

सुषिला कार्की नेतृत्वको सरकारले फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गर्‍यो। यही बिन्दुबाट बालेन शाह राष्ट्रिय राजनीतिमा औपचारिक रूपमा प्रवेश गरे। उनले काठमाडौं मेयर पदबाट राजीनामा दिए र National Freedom Party मा आबद्ध हुँदै प्रधानमन्त्रीको उम्मेदवारका रूपमा चुनाव लड्ने घोषणा गरे। यो निर्णयसँगै बालेन अब स्थानीय होइन, राष्ट्रिय राजनीतिक बहसको केन्द्र बने। २०८२/१०/५ गते बालेन शाह जनकपुर पुगे। जनकी मन्दिरमा दर्शन गरेपछि उनले मैथिली भाषामा जनतासँग संवाद गरे। उनको भनाइ सरल, स्पष्ट र प्रभावकारी थियो— “म काम गर्ने मान्छे हुँ। मलाई मौका दिनुस्, म गरेर देखाउँछु।” न जातीय राजनीति, न घृणा, न आरोप–प्रत्यारोप— केवल काम, क्षमता र इमानदारी। लाखौँको भीडले प्रमाणित गर्‍यो कि बालेन अब केवल काठमाडौंको मेयर होइनन्, उनी राष्ट्रिय नेता बनिसकेका छन्।

चुनावमा बालेन शाहले झापा–५ बाट उम्मेदवारी दिने घोषणा गरे, जुन पूर्वप्रधानमन्त्री केपी ओलीको क्षेत्र हो। यो निर्णय साहसी मात्र होइन, ऐतिहासिक पनि छ। यदि बालेन हार्छन् भने पनि उनी पुराना नेताविरुद्ध उभिएको साहसी आवाज हुनेछन्। यदि जित्छन् भने नेपाली राजनीति नयाँ युगमा प्रवेश गर्नेछ। त्यसैले झापा–५ को नतिजा केवल एउटा सिटको नतिजा होइन, देशको दिशाको संकेत हुनेछ। यदि बालेन शाह प्रधानमन्त्री बने भने चुनौतीहरू अपार छन्— बेरोजगारी समाधान, उद्योग र कृषि सुधार, शिक्षा र स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन, स्थायी सरकार गठन, संविधान संशोधन र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रणाली। यी सबै काम एक्लैले सम्भव छैनन्। यसका लागि जनताको निरन्तर साथ, धैर्य र सहभागिता आवश्यक छ।

राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय चुनौती पनि उत्तिकै गम्भीर छन्। भारतसँग कालापानी, लिपुलेक, लिम्पियाधुरा जस्ता सीमा विवाद समाधान गर्न कडा तर कूटनीतिक नेतृत्व चाहिन्छ। जनताको नजरमा प्रश्न छ— के बालेन शाहले यो साहस देखाउन सक्छन् ? के उनी राष्ट्रिय स्वाभिमान र व्यावहारिक कूटनीतिबीच सन्तुलन कायम गर्न सक्छन् ?

आज धेरै नेपाली संविधानबाट पीडित छन्। संविधान सुधार सबैभन्दा ठूलो अपेक्षा बनेको छ। बालेनबाट अपेक्षा गरिएको छ संविधान संशोधन, संघीयताको सुधार, राजनीतिक हस्तक्षेपको अन्त्य, समानता र समावेशिताको सुनिश्चितता। यदि उनले काठमाडौंलाई “बालेन सिटी” बनाउने सपना देख्न सक्छन् भने, नेपाललाई सुधार्ने सपना किन नदेखून् ? अन्ततः बालेन शाह कुनै चमत्कार होइनन्। उनी कुनै एक्लो उद्धारकर्ता पनि होइनन्। तर उनी इमानदार प्रयास, नयाँ सोच र परिवर्तनको सम्भावनाको प्रतीक हुन्। अब प्रश्न एउटै छ— पुरानै अनुहार कि नयाँ सोच ? पुरानै राजनीति कि नयाँ आशा ? फागुन २१ को चुनावले निर्णय गर्नेछ— “अबकी बार बालेन सरकार” कि फेरि उही पुरानै कथा। एकचोटि नयाँ पुस्तालाई मौका दिऔँ। एकचोटि नयाँ सोचलाई परीक्षण गरौँ। किनभने सही मान्छे सही ठाउँमा पुगे— असम्भव केही हुँदैन।

नोट : लेखक यादव हाल राजर्षि जनक विश्वविद्यालयअन्तर्गत बिए एलएलबी (आठौँ सेमेस्टर) मा अध्ययनरत हुनुहुन्छ ।

Related Post