वैकल्पिक राजनीतिक अभियानका नेतृत्वकर्ताको सम्भावित उम्मेदवारीले बढायो चर्चा

10 June, 2026 73 Views
वैकल्पिक राजनीतिक अभियानका नेतृत्वकर्ताको सम्भावित उम्मेदवारीले बढायो चर्चा
73

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेशको जेठ २९ गते हुने प्रदेश अधिवेशन नजिकिँदै जाँदा सभापति पदको प्रतिस्पर्धा रोचक बन्ने संकेत देखिएको छ। विभिन्न स्रोतका अनुसार वैकल्पिक राजनीति, सामाजिक अभियान तथा शिक्षा क्षेत्रमा लामो समयदेखि सक्रिय डा. हरि कार्की सभापति पदका लागि उम्मेदवारी दिने तयारीमा रहेको चर्चा पार्टीभित्र तीव्र बन्दै गएको छ।

स्थानीय तहलाई निर्दलीय बनाउने अटेरी अभियानका संस्थापक सदस्य, लौरो अभियानका केन्द्रीय प्रवक्ता, नागरिक बचाउ अभियानका अध्यक्ष मण्डल सदस्य तथा संगठन विभाग प्रमुख, नागरिक विद्रोहका संयोजक तथा जेन जी २.० का केन्द्रीय संरक्षकका रूपमा परिचित कार्की पछिल्लो समय रास्वपाको केन्द्रीय सहकारी विभाग सदस्यमा नियुक्त भएका छन्।

पार्टी र विभिन्न सामाजिक–राजनीतिक समूहबीचको समायोजन प्रक्रियाअन्तर्गत लौरो अभियानको तर्फबाट रास्वपासँग आबद्ध भएका कार्की वैकल्पिक राजनीतिक धाराका स्थापित अभियन्ताका रूपमा चिनिन्छन्। देशभर रहेका लौरो अभियानका अभियन्ताहरूको समायोजन प्रक्रिया पनि अगाडि बढिरहेको बताइन्छ।

२६ वर्षभन्दा बढी शिक्षण अनुभव, वित्त तथा लेखाशास्त्र विषयमा विशेषज्ञता र हिमाल कलेज अफ म्यानेजमेन्टको क्याम्पस प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका कार्कीलाई संगठन निर्माण, कार्ययोजना तर्जुमा, समन्वय क्षमता तथा व्यवस्थापकीय दक्षताका कारण सम्भावित बलिया दाबेदारका रूपमा हेरिएको छ।

कार्कीसँग नजिक रहेर काम गरेका केही नेताहरूका अनुसार उनी सरल, शान्त र सन्तुलित स्वभावका नेता हुन्। संगठन विस्तार, टीम व्यवस्थापन, रणनीतिक योजना निर्माण तथा विभिन्न पक्षबीच संवाद र सहकार्यको वातावरण बनाउन सक्ने क्षमता उनका प्रमुख विशेषता रहेको उनीहरूको भनाइ छ।

यद्यपि कार्कीले हालसम्म आफ्नो उम्मेदवारीबारे औपचारिक घोषणा गरेका छैनन्। तर स्रोतहरूका अनुसार उनको उम्मेदवारीको सम्भावना उच्च रहेको र उनी मैदानमा उत्रिएमा रास्वपा गण्डकी प्रदेशको सभापति पदको प्रतिस्पर्धा थप रोचक, आकर्षक र प्रतिस्पर्धात्मक बन्न सक्ने आकलन गरिएको छ।

Related Post