पूँजीवादि वर्चस्व र अमेरीकी सत्ता पलट नीति।

30 March, 2026 472 Views
पूँजीवादि वर्चस्व र अमेरीकी सत्ता पलट नीति।
472

आर्यन मल्ल । वर्तमान विश्व एक सानो 'विश्वग्राम' मा खुम्चिएको छ। यस ग्रामभित्र एउटा यस्तो विशाल र वैभवशाली अट्टालिका छ, जसका स्वामीहरू यति शक्तिशाली छन् कि उनीहरू आफ्नो राजनीतिक एवं आर्थिक वर्चस्व स्थापना गर्न कुनै पनि राष्ट्रको जग हल्लाउने सामर्थ्य राख्छन्। त्यो अट्टालिका अरू केही नभएर संयुक्त राज्य अमेरीका हो, र त्यसका सञ्चालकहरू ती पूँजीपति वर्ग हुन् जो अमेरिकी राज्यसत्ताको आडमा विश्वव्यापी रूपमा पूँजीवादको जाल बुन्न सफल भएका छन्।   
​                                                               सामान्यतया अमेरिकी राज्यसत्ताले राष्ट्रहितका निम्ति जुनसुकै सीमा पार गर्न सक्छ भन्ने बुझाइ छ। तर, के त्यो हित केवल राष्ट्रिय सीमामा मात्र सीमित छ त? यथार्थमा, अमेरिकी राष्ट्रहित र पूँजीपति वर्गको स्वार्थ एकाकार भइसकेका छन्। त्यहाँको शासन व्यवस्थामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा तिनै धनाढ्य वर्गको एकाधिकार पाइन्छ।
  विश्वका स्रोत-साधनहरू सीमित व्यक्ति वा कर्पोरेट घरानाहरूको नियन्त्रणमा केन्द्रित हुनु, र कतै अभावको भोकमरी त कतै विलासिताको थुप्रो लाग्नु—पूँजीवादको यही महाजाल हो। समुदायमा कृत्रिम अभाव सिर्जना गरी त्यसैको भुमरीमा राजनीतिक स्वार्थको विष घोलेर आफ्नो व्यक्तिगत पूँजीको साम्राज्य विस्तार गर्नु नै पूँजीपति वर्गको रणनीतिक खेल रहँदै आएको छ।"                                                                               

   *के हो त पुँजीवाद?                                
पुँजीवाद एउटा यस्तो आर्थिक प्रणाली हो, जसले मुख्य रूपमा नाफा आर्जनलाई प्राथमिकता दिन्छ। यस व्यवस्थामा सामाजिक हितभन्दा व्यक्तिगत लाभलाई बढी महत्त्व दिइने हुनाले स्रोत र साधनहरूमा व्यक्तिगत स्वामित्व रहने गर्दछ। पुँजीवादले निजी क्षेत्रको भूमिकालाई सशक्त बनाउँदै निजीकरणलाई विशेष प्रोत्साहन गर्दछ।"पुजिवादका बारेमा केही विश्वविख्यात दार्शनिकहरुले परिभाषा दिदै आएका छन् र ति यस प्रकारका छन्।                                                         "आदम स्मिथ " यो प्राकृतिक स्वतन्त्रताको एउटा यस्तो प्रणाली वा उदार योजना हो, जहाँ व्यक्तिले आफ्नो निजी स्वार्थ पुरा गर्ने क्रममा अन्जानमै समाजको हित गरिरहेको हुन्छ।                                                                                                                            

  "कार्ल मार्क्स"यस्तो व्यवस्था,जहाँ आयको स्रोत रहेको पुजि सामान्यता ती व्यक्तिहरुको स्वामित्वमा हुँदैन जसले आफ्नो श्रमद्वारा यसलाई संचालन गर्छन्।     
                                                               

   "म्याक्स वेबर" पुजिवाद भनेको उध्यमको विधीद्वारा मानव आवश्यकताहरुको पुर्ति गरिने व्यवस्था हो,विशेष गरी नाफा खोज्ने निजी व्यवसायहरु जसले तर्कसंगत लगानी र गणनाको माध्यमबाट कार्य गर्दछन्।                                                                                        

  "ऎन रान्ड"व्यक्तिगत अधिकारहरु(जसमा सम्पतिको अधिकार पनि समावेश छ) को मान्यतामा अधारीत एउटा समाजिक प्रणाली,जहाँ सम्पुर्ण सम्पती निजी स्वामित्वमा हुन्छ। 
                                                                      

 पूँजीवाद मूलतः व्यक्तिगत स्वामित्व र खुला बजार अर्थतन्त्रमा आधारित एक आर्थिक प्रणाली हो, जहाँ वस्तु तथा सेवाको मूल्य र वितरण बजारमा हुने स्वच्छ प्रतिस्पर्धाले निर्धारण गर्दछ। यस व्यवस्थामा निजीकरणलाई केन्द्रमा राखिन्छ, जसले गर्दा सामाजिक सामूहिकताको अवधारणा भन्दा व्यक्तिगत नाफा आर्जनको उद्देश्य प्रधान रहन्छ। पुँजीवादको आधारभूत चरित्र नै असीमित पुजि सन्च्य(capital accumulation) गर्नु हो।               

              नेपालको सन्दर्भ:वित्तीय र नातावादी पुँजीवाद       

नेपालको वर्तमान आर्थिक स्वरूपलाई विश्लेषण गर्दा यहाँ वित्तीय पूँजीवाद(financial capitalism)हाबी भएको देखिन्छ। यस व्यवस्थामा वास्तविक उत्पादनशील क्षेत्र (कृषि तथा उद्योग) ओझेलमा पर्छन् र मुद्रा परिचालनका क्षेत्रहरू जस्तै—बैंक कर्जा, सेयर बजार र घरजग्गा लगानीमा पुँजी केन्द्रिकृत हुन्छ। यसले अर्थतन्त्रमा वस्तुको उत्पादन भन्दा पैसाको कृत्रिम बाहुल्यता (Financialization) बढाउँछ।
​                                                           

            क्रोनि क्यापिटालिज्म(नातावादी पूँजीवाद)को विकृति  

नेपालको आर्थिक विकासमा सबैभन्दा ठूलो अवरोध नातावादी पूँजीवाद(Crony capitalism)बनेको छ। यसमा प्रभावशाली व्यापारिक घराना, राज्यका उच्चपदस्थ कर्मचारी र राजनीतिक नेतृत्वबीच एक प्रकारको 'स्वार्थपूर्ण सामीप्यता' निर्माण हुन्छ। यो समूहले:
* ​आफ्नो व्यक्तिगत र समूहगत लाभ अनुकूल हुने गरी राज्यका नीति र नियमहरू परिमार्जन गर्दछ।
* ​बजारमा स्वस्थ प्रतिस्पर्धालाई निषेध गर्दै सिन्डिकेट र कार्टेलिङलाई प्रश्रय दिन्छ।
* ​राज्यको ढुकुटी र प्राकृतिक स्रोतमाथि नीतिगत भ्रष्टाचारमार्फत कब्जा जमाउँछ।
       
*पूँजिवादी वर्चस्व समाज।                   

वर्तमान विश्व पूँजीवादको यस्तो चक्रव्यूहमा फसेको छ, जहाँ हाम्रो दैनिक अस्तित्व नै पूँजीपतिहरूद्वारा निर्मित वस्तुहरूमा आश्रित हुन पुगेको छ। पूँजीवादी आविष्कारहरूले मानवीय चेतना र मनोविज्ञानलाई यसरी नियन्त्रित गरेका छन् कि हाम्रो जीवनशैली उनीहरूकै स्वार्थ अनुकूल निर्देशित भइरहेको       आभास हुन्छ। पूँजीलाई नै केन्द्रमा राखेर भौतिकवादलाई मात्र प्रश्रय दिने यस्तो सामाजिक संरचनाका कारण सामाजिक सद्भाव, पर्यावरणीय सन्तुलन र व्यक्तिगत मौलिक हक-अधिकारहरू समेत प्रत्यक्ष वा परोक्ष रूपमा खुम्चिँदै गएका छन्।"पूँजी सञ्चयको यो तीव्र दौडमा स्रोत र साधनको न्यायोचित वितरण हुन नसक्दा समाजमा वर्गीय खाडल गहिरिन्छ। एकातिर सीमित वर्गको हातमा असीमित सम्पत्ति केन्द्रिकृत हुँदै जान्छ भने अर्कोतिर ठूलो जनशक्ति पुँजीको अभावमा आधारभूत आवश्यकता र गुणस्तरीय जीवनस्तरबाट वञ्चित भई अस्तित्व रक्षाका लागि संघर्षरत रहनुपर्ने हुन्छ।                   हाम्रो वर्तमान जीवनशैली यसरी जेलिएको छ कि हामीले परिकल्पना गर्ने विलासी जीवन र सफलताका मानकहरू समेत पुँजीपति वर्गद्वारा निर्मित सामग्री र संरचनामै आधारित छन्। हाम्रो भविष्यका सपना र व्यक्तिगत सफलताका परिभाषा समेत अन्ततः पुँजीवादकै चक्रव्यूहभित्र कैद हुन पुगेका छन्।​यस व्यवस्थाले समाजमा धनी र गरिबबीचको खाडललाई यति गहिरो बनाइदिएको छ कि, बहुसंख्यक मानिसहरू आफ्नो श्रम र पसिना बेचिसक्दा पनि केवल आधारभूत जीविकोपार्जनका लागि संघर्ष गर्न बाध्य छन्। यो बाध्यात्मक परिस्थितिको मूल कारक नै वर्तमान पुँजीवादी वर्चस्वशाली सामाजिक संरचना हो।

​पुँजीवादको प्रभाव केवल आर्थिक क्षेत्रमा मात्र सीमित छैन। इतिहास साक्षी छ कि कतिपय बहुराष्ट्रिय कम्पनीको स्वार्थ रक्षाका निम्ति राज्यको सत्ता नै उथलपुथल पारिएका उदाहरणहरू प्रशस्त छन्। विशेषगरी अफ्रिकी महाद्वीपका कतिपय राष्ट्रहरूमा, जब त्यहाँका शासकहरूले ठूला निजी कम्पनीको एकाधिकारविरुद्ध आवाज उठाए वा राष्ट्रिय हित खोजे, तब उनीहरूको सत्ता ढालियो वा उनीहरूको हत्यासम्म गरियो। यसले ती राष्ट्रहरूको राजनीतिक र आर्थिक स्थिरतालाई पूर्णतः तहसनहस बनाइदिएको छ।
                                               *दोस्रो विश्वयुद्द पछिको भुराजनिती र अमेरीकि सत्ता पलट नीति। 
​ दोस्रो विश्वयुद्धको अन्त्यसँगै विश्व रङ्गमञ्चमा संयुक्त राज्य अमेरिका एक अपरिहार्य र वैभवशाली शक्तिका रूपमा उदय भयो। अमेरिकाले आफ्नो राजनितीक हस्तक्षेप र आर्थिक प्रभुत्व मार्फत विश्वलाई नै एक किसीमको नयाँ व्यवस्थामा हिँडाउन सफल भयो। विश्वव्यापी रूपमा फैलिँदै गरेको पुँजीवादी विचारद्वारा सञ्चालित अमेरिकी सत्ताका सामु साम्यवादी विचारधारा बोकेको सोभियत संघ अर्को शक्तिशाली प्रतिद्वन्द्वीका रूपमा खडा थियो। यी दुई महाशक्तिबीचको तीव्र वैचारिक र राजनीतिक प्रतिस्र्धाले अन्ततः सोभियत संघलाई विघटनको दिशामा पुर्‍यायो, जसलाई अमेरिकाको ऐतिहासिक कूटनीतिक विजय मानिन्छ। ​पुँजीवादी विचारधारा र सम्भ्रान्त वर्गले आफ्नो वैश्विक प्रभुत्व कायम राख्न अमेरिकालाई एक प्रमुख माध्यमका रूपमा प्रयोग गर्दै आएका छन्। राज्य संयन्त्रमार्फत पुँजीवादी वर्चस्वलाई यथास्थितिमा राखिराख्न विभिन्न रणनीतिक गतिविधिहरू सञ्चालन भइरहन्छन्। उदयमान पुँजीवादी अर्थतन्त्रलाई चुनौती दिने एकमात्र विचारधारा "समाजबाद"बाट पुँजीवादी शक्तिहरू सधैँ त्रसित देखिन्छन्। 


​जुन मुलुकहरूले पूर्ण रूपमा समाजवादी व्यवस्था वा विचारधारा अवलम्बन गर्ने प्रयास गर्छन्, त्यहाँ संयुक्त राज्य अमेरिका र उसको गुप्तचर निकाय सीआईए(CIA) ले प्राय:"सत्ता परिवर्तन"(REGIME CHANGE)को नीति अख्तियार गर्ने गरेको पाइन्छ। यस प्रक्रियामा सम्बन्धित राष्ट्रको शासन सत्ता धराशयी बनाउने, आफ्नो अनुकूलको 'कठपुतली सरकार' स्थापना गर्ने वा प्रभावशाली नेताहरूको राजनीतिक हत्या गर्नेसम्मका रणनीतिहरू अपनाइन्छन्। विश्वभर अमेरिकी 'सत्ता पल्टाउने' नीति अन्तर्गत सीआईएले सञ्चालन गरेका थुप्रै घटनाहरू आज इतिहासमा उजागर भइसकेका छन्।

                                                                                             *ग्वाटेमालाको(१९५४) सैनिक कु।


बीसौँ शताब्दीको मध्यतिर ग्वाटेमालाको सार्वभौमिकता र अर्थतन्त्रमा अमेरिकी बहुराष्ट्रिय संस्था युनाइटेड फ्रुट कम्पनि।(UFC)को एकाधिकारवादी नियन्त्रण रहेको थियो, जसले गर्दा देशको भूमि, श्रम र पूर्वाधारमा वैदेशिक वर्चस्व कायम भई सरकारसमेत सोही कम्पनीको स्वार्थअनुकूल परिचालित हुने अवस्था थियो। सन् १९४४ को लोकतान्त्रिक क्रान्तिपश्चात् निर्वाचित राष्ट्रपति ज्याकोब आर्बेन्ज गुजम्यानले मुलुकमा आर्थिक न्याय सुनिश्चित गर्न 'कृषि सुधार कानुन' मार्फत कम्पनीद्वारा ओगटिएका बाँझो जमिनहरू भूमिहीन किसानलाई वितरण गर्ने अग्रगामी कदम चाले। तथापि, यस सुधारलाई आफ्नो व्यावसायिक स्वार्थमाथिको प्रहार ठान्दै कम्पनीले अमेरिकी प्रशासनका उच्च अधिकारीहरू (जस्तै: जोन फोस्टर डलेस र एलन डलेस), जोसँग कम्पनीको प्रत्यक्ष सम्बन्ध थियो, उनीहरूलाई प्रभावमा पारी आर्बेन्ज सरकारलाई 'साम्यवादी' जलप लगाइदियो। फलस्वरूप, शीतयुद्धकालीन भू-राजनीतिक संवेदनशीलता र कर्पोरेट स्वार्थको संगमले गर्दा अमेरिकी गुप्तचर संस्था (CIA) ले 'Operation PB Success' नामक कुख्यात सैन्य हस्तक्षेपमार्फत एक वैध लोकतान्त्रिक सरकारलाई अपदस्थ गरी ग्वाटेमालालाई राजनीतिक अस्थिरतातर्फ धकेल्यो।सन् १९५४ मा अमेरिकी गुप्तचर निकाय'CIA' ले 'Operation PB Success' अन्तर्गत ग्वाटेमालाको जननिर्वाचित सरकार अपदस्थ गर्न एक योजनाबद्ध हस्तक्षेप गरेको थियो। यस अभियानका लागि सी.आई.ए. ले सैन्य अधिकारी कार्लोस कास्टिलो आर्मासको नेतृत्वमा एउटा विद्रोही सेना तयार पारेको थियो। उक्त अपरेशनमा प्रत्यक्ष सैन्य शक्तिभन्दा बढी मनोवैज्ञानिक युद्ध(Psychological warfare)को प्रयोग गरी सरकारी सेना र प्रशासनभित्र भ्रम तथा त्रास फैलाइएको थियो। साथै, उच्च सरकारी अधिकारी र सैन्य प्रमुखहरूलाई प्रलोभन वा धम्कीपूर्ण दबाबमा पारी अन्ततः ग्वाटेमालाको सत्ता परिवर्तन गराउन अमेरिका सफल भएको थियो।
​                                                      

  *चिलिको(१९७३) सैनिक विद्रोह            

  चिलीमा ४ सेप्टेम्बर १९७०मा मार्क्सवादी विचारधाराबाट प्रभावित समाजवादी नेता साल्भादोर एलेन्दे (Salavador Allende)राष्ट्रपति पदमा निर्वाचित भए। उनी खुला रूपमा मार्क्सवादी विचारधारा बोक्ने, विश्वकै पहिलो लोकतान्त्रिक ढङ्गले निर्वाचित नेता थिए। सत्ता सम्हालेलगत्तै उनले चिलीमा केही क्रान्तिकारी सुधारहरू सुरु गरे:                                                  

     *एलेन्देका मुख्य सुधार र कदमहरु                   

     •शिक्षाको सार्वजिकरण:उनले शिक्षामा रहेको निजीकरणलाई रोक्दै यसलाई राज्यको पहुँचमा पुर्‍याउने प्रयास गरे।               •भूमि सुधार:गरिब किसानहरूलाई कृषियोग्य जमिन वितरण गर्ने कार्यको थालनी गरे।
•राष्ट्रियकरण:चिलीका ठूला उद्योगहरू र विशेष गरी तामा खानी(Copper Mining)लाई राष्ट्रियकरण गर्ने योजना बनाए।त्यस समय चिलीको तामा खानीमा अमेरिकी कम्पनीहरू Anaconda र Kennecott को वर्चस्व थियो। एलेन्देले ती खानीहरू राष्ट्रियकरण गरेपछि अमेरिकी कम्पनीहरूलाई ठूलो आर्थिक धक्का लाग्यो।

​एलेन्देको यस कदमबाट चिलीका धनी वर्ग, ठूला जमिन्दार र चर्च खुशी थिएनन्। अर्कोतर्फ, शीतयुद्धको समय भएकाले अमेरिका आफ्नो प्रभाव क्षेत्रमा सोभियत संघको बढ्दो प्रभाव देख्न चाहँदैनथ्यो।        
                                                                 

      C.I.A र PROJECT FUBELT    

  एलेन्देको सरकार ढाल्न अमेरिकी गुप्तचर निकाय (C.I.A.) ले'PROJECT FUBELT नामक अपरेसन सुरु गर्यो। यस अन्तर्गत निम्न रणनीतिहरू अपनाइयो:    •आर्थिक नाकाबन्दी :अन्तर्राष्ट्रिय ऋणहरू रोकेर चिलीको अर्थतन्त्र धराशायी बनाइयो।       

           •अभाव सिर्जना:बजारमा दैनिक उपभोग्य वस्तुहरूको कृत्रिम अभाव सिर्जना गरी जनतामा आक्रोश फैलाइयो।
•गोप्य आर्थिक सहयोग:विपक्षी दल, मिडिया र सरकार विरोधी समूहहरूलाई लाखौँ डलर सहयोग गरी आन्तरिक कलह र अस्थिरता निम्त्याइयो।


​सन् १९७३ को सैन्य विद्रोह र पिनोशेको उदय


​अन्ततः११ सेप्टेम्बर १९७३ मा जनरल अगस्तो पिनोशे   (Augusto Pinochet)को नेतृत्वमा चिलीको सेनाले राष्ट्रपति भवन घेरा हाली बमबारी गर्यो। यसै क्रममा राष्ट्रपति एलेन्देले आत्महत्या गरे र अमेरिका समर्थित सैन्य कु (Coup) सफल भयो।
​पिनोशे शासनका प्रभावहरु                   

 •लोकतन्त्रको हत्या:पिनोशेको सत्तागमनसँगै चिलीमा लोकतन्त्रको हत्या भयो, राजनीतिक दलहरूमाथि प्रतिबन्ध लगाइयो र नागरिक स्वतन्त्रता खोसियो।
•नव-उदारवाद(Neo-liberalism): पिनोशेले अमेरिकी सल्लाहकारहरूको सहयोगमा 'फ्री मार्केट' (खुला बजार) अर्थतन्त्र लागू गरे। यसलाई विश्वमा नव-उदारवादको प्रारम्भिक र कठोर प्रयोग मानिन्छ।

Related Post