३४ श्रमदाता लिएर श्रम संस्कृति पार्टीको टोली रसुवा प्रस्थान

३४ श्रमदाता लिएर श्रम संस्कृति पार्टीको टोली रसुवा प्रस्थान
60

काठमाडौं । श्रम संस्कृति पार्टीका केन्द्रीय सचिव प्रसाद राईको नेतृत्वमा ३४ जना श्रमदाता रसुवातर्फ प्रस्थान गरेका छन्। उनीहरू चारवटा क्यारियर गाडीमा जेनेरेटर, ड्रिल, टेन्ट, गैंती, बेल्चा र खाद्यान्नलगायत सामग्री लिएर रसुवा गएका हुन्।

भोटेकोशी नदीमा आएको बाढीले रसुवाको पुङ खोलामा रहेको बेलिब्रिज बगाउनुका साथै सडकसमेत पूर्ण रूपमा क्षतिग्रस्त बनाएपछि त्यस क्षेत्रमा सडक आवागमन अवरुद्ध भएको छ। बाढीले पुल र सडकमा क्षति पुर्‍याएपछि यातायात सञ्चालनमा समस्या भएको हो।

अवरुद्ध सडक खुलाउन श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङको टोली हिजैदेखि पुङ खोलामा खटिएको छ। त्यसैलाई थप सहयोग गर्न सचिव राईको नेतृत्वमा ३४ जना श्रमदाता आवश्यक उपकरण र खाद्यान्नसहित रसुवा गएका हुन्।

सचिव राईले आजै रसुवा पुगेर सडक खुलाउने कामलाई थप तीव्रता दिने बताएका छन्।

उनले भने, “हामी आज नै रसुवा पुग्ने गरी हिँडिरहेका छौँ। त्यहाँ पुगेपछि बाटो खुलाउने कामले झनै तीव्रता पाउनेछ।”