७ ठूला ढुंगा हटाइए, त्रिशूली–३ ‘ए’ मा पावर हाउस १६० मिटर मात्रै

७ ठूला ढुंगा हटाइए, त्रिशूली–३ ‘ए’ मा पावर हाउस १६० मिटर मात्रै
59

काठमाडौं । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा प्रवेश गर्ने क्रममा देखिएका ७ वटा ठूला ढुंगा रातभर पानी निकालेर विस्फोट गरी हटाइएको छ भने सुरुङ सफा गर्दै पावर हाउस पुग्न अब करिब १६० मिटर मात्र बाँकी रहेको सांसद तथा सुरुङ विज्ञ श्रीराम न्यौपानेले जानकारी दिएका छन्।

सुरुङको मुखमा जमेको पानी निकालिएपछि भित्र प्रवेश गर्ने क्रममा ठूला ढुंगा देखिएका थिए। ती ढुंगा विस्फोट गरी हटाएपछि अहिले विस्फोटबाट खसेका ढुंगा सफा गर्ने र सुरुङको सतह सम्याउने काम भइरहेको छ।

सुरुङभित्र जम्मा भएको लेदो तथा माटो बाहिर निकाल्न ह्विल लोडर र मिनी एक्स्काभेटर तयारी अवस्थामा राखिएको न्यौपानेले बताएका छन्।

उनका अनुसार सुरुङ सफा गर्दै करिब १६० मिटर अगाडि बढेपछि पावर हाउस पुगिनेछ। हाल पावर हाउस क्षेत्रलाई तुलनात्मक रूपमा सुरक्षित स्थान मानिएको छ।

सुरुङभित्रका अवरोध हटाउँदै पावर हाउससम्म पुग्ने प्रयास जारी रहेको छ।