काठमाडौं । धनुषाबाट ११ दिनअघि हराएका १५ महिनाका बालक सिधान्त महतो सकुशल उद्धार भएका छन्। बालक अपहरणको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।
विदेह नगरपालिका–६ तीनकोरियाका कमलेश महतोका छोरा सिधान्त भदौ १८ गते घरको आँगनमा खेलिरहेका बेला हराएका थिए।
प्रहरीका अनुसार अनुसन्धानका क्रममा कमला नगरपालिका–९ की ४१ वर्षीया पुनिता देवी पासवानले बालकलाई अपहरण गरी नेपाल र भारतका विभिन्न स्थानमा लुकाउँदै आएको खुलेको छ।
प्रहरीको खोजी तीव्र भएपछि पासवानले भदौ २९ गते बालकलाई घरनजिकै सडकछेउमा छाडेर भागेकी थिइन्। प्रहरीले बालकलाई उद्धार गरी स्वास्थ्य परीक्षणपछि अभिभावकको जिम्मा लगाएको छ।
भारततर्फ भाग्दै गरेकी पासवानलाई पनि प्रहरीले दशगजा क्षेत्रबाट पक्राउ गरेको छ। उनीविरुद्ध अपहरण, शरीर बन्धक र मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।