इन्द्रजात्राको लिङ्गो काभ्रेबाट काठमाडौँ ल्याइयो

इन्द्रजात्राको लिङ्गो काभ्रेबाट काठमाडौँ ल्याइयो
6

काठमाडौं । ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्राका लागि आवश्यक लिङ्गो काभ्रेको नाला वनबाट विधिपूर्वक काठमाडौँ ल्याइएको छ।

तान्त्रिक तथा परम्परागत विधिअनुसार पूजा गरेर छनोट गरिएको रूख काटी तयार पारिएको लिङ्गोलाई मंगलबार सडकमार्ग हुँदै तानेर काठमाडौँ ल्याइएको हो।

नेपाल भाषामा लिङ्गोलाई ‘यःसिं’ भनिन्छ। नालाको वनबाट ल्याइएको यःसिंलाई विधिपूर्वक तयार गरी हनुमानढोका दरबार क्षेत्रमा रहेको कालभैरवको मूर्तिअगाडि ठड्याइन्छ। यःसिं ठड्याएर इन्द्रध्वजोत्थान गरेपछि इन्द्रजात्राको औपचारिक सुरुआत हुने धार्मिक मान्यता छ।

लिङ्गो छनोटदेखि कटानसम्मको प्रक्रिया पनि विशेष धार्मिक विधिसँग जोडिएको छ। परम्पराअनुसार नालाको वनमा पूजा गरेपछि निश्चित विधिबाट लिङ्गोका लागि रूख छनोट गर्ने गरिन्छ।

काभ्रेबाट भक्तपुर हुँदै भोटाहिटी, असन र इन्द्रचोक भएर हनुमानढोकासम्म लिङ्गो तानेर ल्याउने परम्परा इन्द्रजात्राको महत्वपूर्ण सांस्कृतिक पक्ष मानिन्छ। लिङ्गो ल्याउने क्रममा बाटोभरि सर्वसाधारणको उल्लेख्य भीड लाग्ने गर्छ।

Related Post