रसुवामा विनाशकारी बाढीको कारण के हो? तिब्बतमा नदी थुनिएर बाढी आएको हुनसक्ने अनुमान

26 August, 2026 73 Views
रसुवामा विनाशकारी बाढीको कारण के हो? तिब्बतमा नदी थुनिएर बाढी आएको हुनसक्ने अनुमान
73

काठमाडौं । तिब्बततर्फबाट बुधबार बिहान अचानक आएको बाढीले रसुवाको टिमुरे, स्याफ्रुबेँसीलगायतका क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। बाढी भोटेकोशी हुँदै त्रिशूली नदीमा मिसिएर नुवाकोट र धादिङसम्म पुगेको छ। बाढीको यकिन कारण अझै पुष्टि भइसकेको छैन।

चिनियाँ एकेडेमी अफ साइन्समा कार्यरत हिमताल तथा हिमबाढी जोखिम अनुसन्धानकर्ता नितेश खड्काका अनुसार तिब्बततर्फ ठूलो हिमपहिरो खसेर नदी केही समय थुनिएको र त्यसपछि बनेको अस्थायी ताल वा प्राकृतिक बाँध फुट्दा अचानक ठूलो बाढी आएको हुनसक्ने प्रारम्भिक अनुमान छ।

खड्काका अनुसार तिब्बतको जिलोङ काउन्टी अर्थात् केरुङ क्षेत्रतर्फ पर्ने दोङलिङ साङ्पो (पेलियन) खोलामा पहिरो खसेर पानी थुनिएको हुनसक्ने र अवरोध फुटेपछि ठूलो परिमाणमा पानी नेपालतर्फ आएको हुनसक्छ।

तर यो प्रारम्भिक अनुमान मात्रै हो। बाढीको वास्तविक कारण पत्ता लगाउन थप अध्ययन र स्याटेलाइट तस्बिर आवश्यक रहेको विज्ञहरूको भनाइ छ। अहिलेसम्म हिमताल फुटेको वा हिमपहिरोका कारण नदी थुनिएको भन्ने विषय आधिकारिक रूपमा पुष्टि भएको छैन।

यता, बाढी पूर्वानुमान महाशाखाका अनुसार नेपालतर्फ ठूलो वर्षा भएको देखिएको छैन। तर स्याटेलाइट सूचनामा तिब्बत क्षेत्रमा उल्लेख्य वर्षा भएको देखिएको बताइएको छ। त्यसैले बाढीको वास्तविक कारणबारे थप अध्ययन भइरहेको छ।

भोटेकोशी हुँदै आएको बाढी त्रिशूली नदीमा मिसिएपछि नुवाकोटको बेत्रावती, त्रिशूली र देवीघाट क्षेत्रमा समेत प्रभाव परेको प्रारम्भिक विवरण छ। बाढीको जोखिमलाई ध्यानमा राख्दै रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

बाढीबाट टिमुरेमा खटिएका ९ जना सशस्त्र प्रहरीसमेत सम्पर्कविहीन भएका छन्। उनीहरूको खोजी तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ।

बाढीले जलविद्युत आयोजना तथा विद्युत प्रसारण संरचनामा समेत क्षति पुर्‍याएको छ। रसुवागढी, चिलिमे र त्रिशूली–३ ‘ए’ जलविद्युत केन्द्र तथा त्रिशूली–३ ‘बी’ हबको २२० केभी सबस्टेसन प्रभावित भएका छन्।

विज्ञहरूका अनुसार तापक्रम वृद्धि र हिमाली क्षेत्रमा हिमताल तथा हिमनदीमा भइरहेको परिवर्तनले भविष्यमा अचानक आउने हिमबाढीको जोखिम बढाउन सक्छ। तर अहिलेको बाढी पनि यही कारणले आएको हो भन्ने निष्कर्षमा पुग्न वैज्ञानिक अध्ययन आवश्यक छ।

अहिले सुरक्षाकर्मी तथा उद्धार टोली प्रभावित क्षेत्रमा उद्धार र खोजीमा केन्द्रित छन्। बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको पूर्ण विवरण भने संकलन भइरहेको छ।

Related Post