काठमाडौंको फोहोर मंगलबारदेखि उठाइने

सेयर गर्नुहोस्

जेठ १६ गते रोकिएको काठमाडौं उपत्यकाको फोहोर मंगलबारदेखि सिसडोल/बन्चरेडाँडा लैजान दिने सहमति भएको छ ।

शहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिका र स्थानीय वासिन्दाबीच सोमबार सहमति भएपछि काठमाडौंको फोहोर व्यवस्थापन हुन लागेको हो ।

हरेक दिन बञ्चरे डम्पिङ साइटमा फोहोर खसालेपछि १५ सेन्टिमिटर उचाइको माटोले पुर्ने सहमति भएको आयोजना निर्देशक रवीन्द्र बोहोराले जानकारी दिए।

यसरी माटोले पुरेपछि दुर्गन्ध नफैलिने उनले बताए। दुर्गन्ध हटाउन नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को सिफारिसका आधारमा १० दिनभित्र रासायनिक वा जैविक उपचारको विधि पनि लागू गरिनेछ।

‘अहिलेलाई असार मसान्तसम्म विगतमा जसरी फोहोर उठाइन्थ्यो, त्यसरी नै उठाइनेछ। साउन १ देखि भने कुहिने र नकुहिने फोहोर स्रोतमै छुट्टयाएर नकुहिने खालका फोहोर मात्र डम्पिङ साइटमा लैजाने सहमति भएको छ,’ बोहोराले वार्तापछि भने।

सोमबार सहरी विकास मन्त्री रामकुमारी झाँक्रीको रोहबरमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह,उपमेयर सुनिता डंगोल,ललितपुर महानगरपालिकाकी उपप्रमुख मन्जली शाक्य, प्रभावित धुनिवेशी नगरपालिकाका प्रमुख वालकृष्ण आचार्य,ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङलगायत जनप्रतिनिधिको बैठकले फोहोर उठाउने सम्बन्धमा सहमति जुटाएको हो ।

यसका लागि बन्चरे डाडा फोहोर व्यवस्थापन आयोजनका निर्देशक मन्त्रालका रवीन्द्र बोहरा,काठमाडौं महानगरका लोकनाथ पौड्याल,धुनिवेशी नगरपालिकाका हरिदत्त कँडेल र ककनी गाउँपालिकाकी प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी शर्माले हस्ताक्षर गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *