मर्दी हिमाल बाह्य तथा आन्तरिक पर्यटकको रोजाइमा

सेयर गर्नुहोस्

१ मंसिर, कास्की । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा अवस्थित मर्दी हिमाल पदमार्ग पछिल्ला वर्षमा पर्यटकको रोजाइमा पर्ने गरेको छ । मर्दी हिमालसहित माछापुच्छ्रे, अन्नपूर्ण साउथ, हिमचुली, अन्नपूर्ण प्रथम, गङ्गापूर्ण, गन्धर्व चुलीलगायत आधा दर्जनभन्दा बढी हिमाल नियाल्ने अवसर पदयात्रामा मिल्ने भएकाले बाह्य तथा आन्तरिक पर्यटकको आकर्षण बढेको छ । 

छोटो समयमा साहसिक पदयात्राको आनन्द लिन पाइने भएपछि पर्यटक मर्दी उक्लिने गरेका छन् । एक दशकअघिसम्म गुमनाम जस्तै रहेको मर्दी पदयात्रामा पर्यटक बढेसँगै पर्यटकीय पूर्वाधार निर्माण सुरु गरिएको छ । यस पदमार्गमा आउने पर्यटकलाई आवश्यक सूचना तथा जानकारी प्रदान गर्ने उद्देश्यले माछापुच्छ्रे गाउँपालिकाले पर्यटक सूचना केन्द्र निर्माण सुरु गरेको छ । देश विदेशबाट पदयात्रामा पाउने पर्यटकलाई व्यवस्थित गर्ने र उनीहरुलाई आवश्यक जानकारी प्रदान गर्ने उद्देश्यले केन्द्र निर्माण अघि बढाइएको हो ।

पालिकाको ५५ प्रतिशत र जीविकोपार्जनका लागि दिगो पर्यटन परियोजना ९एसटीएलआरपी० ले ४५ प्रतिशत लगानी गरी रु ३० लाख लागतमा सूचना केन्द्र निर्माणको काम सुरु भएको गाउँपालिका उपाध्यक्ष सीता अधिकारीले बताए । उनका अनुसार सूचना केन्द्रबाट पर्यटकलाई पदमार्गका बारेमा आवश्यक जानकारी तथा पर्यटकको तथ्याङ्क सङ्कलनमा सहयोग पुग्नेछ । उपाध्यक्ष अधिकारीले भने, “मर्दी ट्रेकिङ रुट अहिले पदयात्रा रुचाउने आन्तरिक तथा बाह्य पर्यटकको पहिलो रोजाइमा परेको छ । पदयात्रामा आउने पर्यटकलाई आवश्यक जानकारी तथा सूचना प्रदान गर्नका लागि सूचना केन्द्र निर्माण सुरु गरेका छौँ ।”

गाउँपालिकाले पर्यटक सूचना केन्द्र निर्माणसँगै स्वदेशी तथा विदेशी पर्यटकलाई सहज हुने विश्वास लिइएको छ । पर्यटकीय गतिविधि बढेसँगै मर्दी पदयात्रामा बर्सेनि नयाँ होटल तथा रेष्टुरेन्ट थपिनेक्रमसमेत वद्धि भएको छ । सूचना केन्द्रबाट मर्दी ट्रेकिङ रुटको भौगोलिक अवस्था, यात्राका क्रममा घुम्नुपर्ने स्थान, यात्रामा लाग्ने समय, आवासको व्यवस्थासँगै पर्यटकको सुरक्षित र सहज यात्राको विषयमा आवश्यक जानकारी प्रदान गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण अर्यालले जानकारी दिए ।

पोखराबाट २२ किमी दूरीमा रहेको माछापुर्च्छ्रे गाउँपालिकाको घलेल हुँदै कालीमाटी तथा सिदिङसम्म जीपबाट पुगेर मर्दी पदयात्रा सुरु हुन्छ । जङ्गलको बाटो हुँदै उकालो चढेर दुई हजार नौ सय ७० मिटर उचाइमा अवस्थित लो क्याम्प पुगिन्छ ।माछापुच्छ्रेकै धम्पुस तथा अन्नपूर्ण गाउँपालिकाको काँढेबाटसमेत पोथना, अष्ट्रेलियन क्याम्प, प्रितम देउराली, फरेस्ट क्याम्प हुँदै लो क्याम्पसम्म पर्यटक पुग्दछन् । लो क्याम्पबाट बादलडाँडा, हाइक्याम्प, ‘भ्यु पोइन्ट’ हुँदै चार हजार ५०० मिटर उचाइको मर्दी हिमाल आधार शिविर पुगिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *