पूर्वको पशुपतिनाथ भनेर अर्जुनधारा धाममा ४१ औं वार्षिक अनुष्ठान हुने

सेयर गर्नुहोस्

मंसिर ११, काठमाडौं । पूर्वको पशुपतिनाथ भनेर चिनिने झापाको अर्जुनधारा धाममा ४१ औं वार्षिक अनुष्ठान हुने भएको छ । बालाचतुर्दशी पर्वका बेला वार्षिक रुपमा गरिने अनुष्ठानमा यस वर्ष श्रीमद् देवीभागवत महापुराण ज्ञान महायज्ञको आयोजना गरिने भएको हो । आगामी मंसिर १७ गतेदेखि शुरु हुने श्रीमद् देवीभागवत महापुराण ज्ञान महायज्ञ नौ दिनसम्म चल्ने अर्जुनधारा जलेश्वर धामका अध्यक्ष नविन गट्टानीले जानकारी दिए ।

उनकाअनुसार कार्यक्रमको समापन मंसिर २५ गते बालाचतुर्दशीका दिन हुनेछ । शतविज छर्ने दिन बालाचतुर्दशीको अघिल्लो रात जाग्राम बस्ने चलन छ । गत वर्ष नेपाल, भारत, भुटानलगायत देशहरूका करिव ३ लाख भक्तजन अर्जुनधारा जलेश्वर धाम आएका थिए । वार्षिक अनुष्ठानका बेला दैनिक योग शिविर सञ्चालन गरिने र पतञ्जली योगपीठबाट बालकृष्ण आचार्य पनि धाममा आउने अध्यक्ष गट्टानीले बताए ।

अर्जुनधारा जलेश्वर धाम हिन्दु तीर्थस्थलका रुपमा विकसित भइरहेको छ । झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ७ मा रहेको अर्जुनधारा जलेश्वर धाम धार्मिक पर्यटकीय स्थलको रुपमा पनि विकासोन्मुख छ । सरकारले सूचिकृत गरेका एक सय पर्यटकीय गन्तव्य मध्येको एउटा धाम पनि पर्दछ । महाभारतकालमा पाण्डवलाई १२ वर्ष वनवास र एक वर्ष गुप्तवास भएका बेलामा राजा विराटका हजारौं गाईलाई कौरवले हरण गरेका बेला अर्जुनले अर्जुनधारा धाममा पानी निकालेर गाईलाई खुवाएको धार्मिक विश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *