आजदेखि सुदूरपश्चिम महोत्सव २०८० सुरु

सेयर गर्नुहोस्

२२ मंसिर, कैलाली । आजदेखि सुदूरपश्चिम महोत्सव २०८० सुरु हुँदै छ । आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महोत्सव उद्घाटन गर्ने भएका छन् । शुक्रवार दिउँसो १२ः३० बजे प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने कैलाली उद्योग वाणिज्य संघ कैलालीका अध्यक्ष पुष्पराज कुवरले बताए । बिहीबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा महोत्सवको सम्पूर्ण तयारी पुरा भइसकेको जानकारी गराइएको थियो । कैलाली उद्योग वाणिज्य संघले आयोजन गरेको पत्रकार सम्मेलनमा महोत्सवले सुदूरपश्चिम प्रदेशको समृद्धि र विकासको आधार बन्ने दाबी गरिएको थियो । सुदूरपश्चिमबासीले गर्वका साथ पर्वको रूपमा मनाउँदै आएको सुदूरपश्चिम महोत्सव व्यापार व्यवसाय जगतमा उत्कृष्ट र अनुपम नमुनाको रूपमा रहने छ’ पत्रकार सम्मेलनमा कैलाली उद्योग वाणिज्य संघ कैलालीका अध्यक्ष पुष्पराज कुवरले बताए ।

उनका अनुसार महोत्सव स्थलमा ४ सय भन्दा बढी स्टलहरू रहने छन् । महोत्सव करिब ६ लाख ५० व्यक्तिले अवलोकन गर्ने १० करोड बढीको कारोबार गर्ने बताइएको छ । कैलाली उद्योग वाणिज्य संघले यस पटक २ करोड बढिको लगानीमा महोत्सव आयोजना हुन लागेको हो । कैलाली उद्योग वाणिज्य संघका महासचिव ओम विष्टले महोत्सवमा चौधरी र राना समुदायको पहिचान झल्किने संग्रहालय सहितको अलग गाउँ निर्माण गरिएको जानकारी दिए । उनले सुदूरपश्चिमको आर्थिक विकासको लागि सम्भावनाको खोजी गर्दै यस क्षेत्रको पर्यटन विकास,सांस्कृतिक कला, खानपान, भाषाको संरक्षण गर्दै व्यवसायीक सफलता गर्न महोत्सवले टेवा पुग्ने बताए ।

२०६३ सालदेखि कैलाली महोत्सवको नामबाट आयोजना गर्न सुरु गरिएको यो महोत्सवलाई सुदूरपश्चिमको विकासको लागि शालीन आन्दोलनका रूपमा पनि बुझ्ने गरिन्छ । राष्ट्र र सरकार प्रमुखलाई २१ बुँदे माग सहित आयोजना हुन लागेको १७ वर्षमा पूर्ण रूपमा पाँच वटा मागहरू सम्बोधन भएका छन् । ६ वटा मागहरू आंशिक सम्पन्न हुने क्रममा छ भने १० माग अझै सम्बोधन गरिएको छैन । अप्टिकल फाइवर विस्तार, सुदूरपश्चिममा विश्वविद्यालय स्थापना, छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना तथा रङ्गशाला निर्माण, आइसियु स्थापना र दुग्ध प्रयोगशाला स्थापना १७ वर्षमा पुरा भएका मागहरू हुन् ।

अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण, प्रदेश सभा सम्मेलन गृहको स्थापना, सुख्खा बन्दरगाह निर्माण, प्रदेश स्तरीय पर्यटन केन्द्रको स्थापना १७ वर्षमा आंशिक पुरा भएका माग हुन् । त्यस्तै गेटा विमान स्थलको धावनमार्ग कालोपत्रे, क्षेत्रीय विमानस्थलमा विस्तार गर्दै वैकल्पिक अन्तर्राष्ट्रिय विमान स्थलको रूपमा विकास गर्ने र चिसापानी –गड्डाचौकी सम्म बन नरहेको पुराना बजार दर्ता गरिनु पर्ने माग आंशिक सम्बोधन भएको कैलाली उद्योग वाणिज्य संघले जानकारी दिएको छ ।
पुरा नभएका माग  :

१.  गौरिफन्टा (त्रिनगर भन्सार) नाकालाई सुविधा सम्पन्न अन्तर्राष्ट्रिय नाकाको रूपमा विकास
२. प्रदर्शनी स्थलको निर्माण
३. १० वर्ष सम्म करमुक्त क्षेत्र घोषणा
४. विशेष औद्योगिक क्षेत्र स्थापना र विशेष औद्योगिक प्याकेजको व्यवस्था
५. चीनसँग जोड्ने नाका खोल्ने
६. पश्चिम सेती जलविद्युत आयोजना निर्माण र लोडसेडिङ मुक्त प्रदेश
७. कृषि विश्वविद्यालयको स्थापना
८. प्रदेश सांस्कृतिक संग्राहलयको स्थापना
९. सूचना प्रविधि केन्द्र स्थापना
१०. सेती अस्पताललाई सुविधा सम्पन्न क्षेत्रीय अस्पतालको रूपमा विकास

Leave a Reply

Your email address will not be published. Required fields are marked *