सहारा खोज्दै आश्रम पुगेकी बृद्धलाई दलित भएकै कारण बस्न नदिइएको आरोप

सेयर गर्नुहोस्

२२ मंसिर, विराटनगर । विराटनगरको एक वृदाश्रममाथि दलित महिलालाई बस्न नदिएर फर्काएको आरोप लागेको छ । उर्लाबारी नगरपालिकाको सिफारिस लिएर विराटनगरको जागृति वृद्धाश्रम गएकी ६२ वर्षीया शोभा सुन्दासलाई आश्रमले थर सोधेर फर्काइदिएको आरोप लागेको हो । शोभाका सन्तान छैनन् । आफन्त पनि छैनन् । अर्काको घरमा बस्दै आएकी उनले वृद्धा आश्रममा बस्न चाहेपछि उर्लाबारी नगरपालिका–१ की वडा सदस्य टीका भुजेलले विराटनगरको जागृति वृद्धश्रममा बस्नका लागि वडाबाट सिफारिस पत्र बनाइदिएकी थिइन् । तर थर सोधेर आश्रमले शोभालाई फर्काएको वडा सदस्य भुजेलले बताइन् ।

‘उहाँको कोही छैन, असहाय मान्छे हो,’ भुजेलले भनिन्, ‘आश्रममा के थरी भनेर सोध्दा उहाँले दमाई भन्नुभयो, त्यसपछि यस्तो जातको त हामीले राख्ने गरेको छैन भन्नुभयो ।’ उर्लाबारी नगरपालिका–३ ले शोभा सुन्दासलाई यही मंसिर १४ गते सिफारिस पत्र बनाइदिएको थियो । सोही सिफारिस पत्र बोकेर उनी १५ गते आश्रम गएकी थिइन् । तर आश्रमका सञ्चालकले ‘दलित रहेछौ’ भन्दै बस्न नदिएपछि उनी उर्लाबारी–७ मा अर्काको घरमा बस्दै आएको वडा सदस्य भुजेलको भनाइ छ ।

सहारा खोज्दै आश्रम पुगेकी शोभा आश्रमबाटै अपहेलित भएको भन्दै दलित अधिकारकर्मीको सहयोगमा प्रहरी कार्यालय पुगेकी थिइन् । उनले बिहीबार नै जिल्ला प्रहरी कार्यालयमा निवेदन पनि दिएकी छन् । वडा सदस्य भुजेलले जातकै कारण शोभालाई आश्रममा बस्न नदिइएको दाबी गरिन् । ‘२१ औं शताब्दीमा जातीय विभेदले गर्दा आश्रममा बस्न नपाउने दुःखलाग्दो घटना भयो,’ उनले भनिन्, ‘आश्रमले नराखेपछि उहाँ अहिले उर्लाबारी–७ मा अर्काको घरमा हुनुहुन्छ ।’

दलित अधिकारकर्मी उमेश विश्वकर्माले पनि जातका आधारमा वृद्ध महिलामाथि विभेद भएको बताए । ‘वडाको सिफारिस पत्र लिएर आएकी महिलालाई दलित रहेछौ, दलित राख्ने गरेको छैन भन्दै फर्काए,’ दलित अधिकारकर्मी विश्वकर्माले भने, ‘जातका आधारमा विभेद गरेपछि महिलाले जिल्ला प्रहरी कार्यालयमा न्यायका लागि निवेदन दिनु भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक रञ्जनकुमार दाहालले आश्रमले बस्न नदिएको जाहेरी परेपछि बुझ्ने काम भइरहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *