बराहक्षेत्रमा घुम्नआउने पर्यटकको संख्यामा वृद्धि

सेयर गर्नुहोस्

२२ मंसिर, सुनसरी । पछिल्लो समय सुनसरीको बराहक्षेत्रमा घुम्नआउने पर्यटकको संख्यामा वृद्धि हुन थालेको छ । हिउँद लागेसँगै बराहक्षेत्र धाममा घुम्न आउने आन्तरिक र बाह्य पर्यटकको संख्या दैनिक वृद्धि हुँदै गएको बराहक्षेत्र संरक्षण मञ्चका सचिव राजु घिमिरेले जानकारी दिए । उनले भने, “हिउँद लागेसँगै विशेषगरी कात्तिकेमेला र माघीमेलामा बढी तीर्थालु भक्तजन बराहक्षेत्र मन्दिर आउने गरेका छन् ।

बराहक्षेत्र मन्दिरमा पूजाआजा एवं कोकाकौशिका नदी र सप्तकोशीको जलले स्नान गर्न धार्मिक पर्यटक यहाँ आउने गर्दछन् । उनले भने, “यसपटकको कात्तिकेमेलामा झण्डै चार लाख पर्यटक बराहक्षेत्र आएका छन् । बराहक्षेत्र मन्दिरमा प्रत्येक वर्ष हरिबोधनी एकादशीदेखि पूर्णिमासम्म कात्तिकेमेला लाग्ने गर्दछ । मेलामा नेपाल विभिन्न जिल्ला सहित भारतको बिहारबाट तीर्थालु भित्रिने गरेको बराहक्षेत्र नगरपालिका वडा नं १ का वडाध्यक्ष किसन थापाले बताए ।

चार क्षेत्रमध्येको एक क्षेत्र मानिएको बराहक्षेत्रमा हिन्दू धर्मावलम्बीको पवित्र तीर्थस्थल रहेको बराहक्षेत्र मन्दिरका प्रधान पुजारी किरण भण्डारी बताए । उनले भने, “किंवदन्तीअनुसार पृथ्वी आकाशगङ्गामा हराएको बखत सम्पूर्ण प्राणीजगत्को उद्धार गरेर यस ठाउँमा बराह भगवानको अवतार भएको मानिन्छ । यही विश्वासले महिमागान गर्दै बराहक्षेत्रको दर्शन गर्न तीर्थालु आउने गर्दछन् । बराहक्षेत्रको दर्शन गर्नाले सुख, शान्ति प्राप्ति हुने विश्वास छ । साथै बराहक्षेत्र मन्दिरमा भाकल गर्ने, पूजा गर्ने, कोकाकौशिका नदीमा स्नान गर्नाले पाप नष्ट भइ आनन्द प्राप्त हुने जनविश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *