विचारको विकास नभएकाले कम्युनिस्ट आन्दोलन समाप्त हुने चरणमा पुगेको छः प्रचण्ड

सेयर गर्नुहोस्

१० पुस, काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विचारको विकास नभएकाले कम्युनिस्ट आन्दोलन समाप्त हुने चरणमा पुगेको बताएका छन् । एक सय ३१ औँ ‘माओ दिवस’का सन्दर्भमा मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले आजको सन्दर्भमा विचारको विकास नै कम्युनिस्ट आन्दोलनको प्रमुख चुनौतिका रुपमा रहेको उल्लेख गरे ।  उनले भने, आजको राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति माओको जीवनकालको जस्तो छैन, माओपछि विश्व परिस्थितिमा निकै ठूलो फेरबदल आएको छ, साम्राज्यवादले नयाँनयाँ रणनीति र कार्यनीतिसहित आफूलाई टिकाइरहेको छ, हामी माक्र्सवादीहरूले ठोस परिस्थितिअनुसार आफूलाई जसरी रूपान्तरण गर्नुपथ्र्यो त्यो गर्न सकिरहेका छैनौँ, आजको मुख्य चुनौती यही हो ।

माओको स्मरण गर्नुको अर्थ विचार र क्रान्तिलाई मौलिक ढङ्गले सोच्नु रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले माक्र्सवादीले यान्त्रिकता वा अन्धानुकरणमा जानु उपयुक्त नहुने विचार व्यक्त गरे । माओवादीको आठौँ महाधिवेशनले संश्लेषण गरेको कार्यदिशा पनि यही नै रहेको उनको भनाइ छ ।  प्रधानमन्त्री दाहालले सामाजिक न्याय, सुशासन र समृद्धिको बाटोबाटै समाजवादको आधार तयार हुनेमा जोड दिँदै त्यसका लागि आफ्नो नेतृत्वको वर्तमान सरकार क्रियाशील रहेको बताउदै भने, सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिलाई उच्च प्राथमिकता दिएको छ, यसको अर्थ समाजवादको आधार तयार पार्नु हो । त्यसकै आधारमा अगाडि बढ्छौँ । पार्टीले सञ्चालन गरेको ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’को समापनलगत्तै नयाँ अभियानको थालनी गरिने जनाउँदै , चार महिने अभियान पुस १६ गते समापन हुँदैछ, त्यसपछि हामी विचारको छलफल र अन्तरक्रियाका लागि जनतामा नै जान्छौँ, त्यसका लागि विचार केन्द्रित अर्को अभियान सुरू गर्ने अध्यक्ष दाहालले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *