जापानमा भूकम्पका कारण ९२ जनाको मृत्यु, २४२ बेपत्ता

सेयर गर्नुहोस्

२० पौष,काठमाडौं । मध्य जापानको इशिकावा प्रिफेक्चरमा ७.६ म्याग्निच्युडको भूकम्प गएको चार दिनमा मृतकको संख्या ९२ पुगेको छ । साथै २४२ जना बेपत्ता भएको विवरण सार्वजनिक गरिएको छ । सो क्षेत्रका आसपासमा थप क्षति हुने चिन्ता बढेको र खोजी कार्य तिब्र बनाइएको बताइएको छ । स्थानीय समय अनुसार शुक्रबार बिहान ९ बजेसम्म इशिकावामा २४२ जना बेपत्ता भएको राष्ट्रिय समाचार एजेन्सी क्योडोले प्रीफेक्चरल अधिकारीहरूलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ । भूकम्पपछि सबैभन्दा बढी प्रभावित तटीय शहर वाजिमामा अझै पनि ४० भन्दा बढी मानिस पुरिएको र भत्केको संरचनामा फसेको बताइएको छ ।

जापानी आत्मरक्षा बलहरूले लगभग ४६ हजार कर्मचारीहरू संलग्न भएका, प्रहरी र दमकल विभागहरूसँग मिलेर बेपत्ताहरूको खोजी र सुरक्षाको पुष्टि गर्नका लागि आफ्नो प्रयासहरू बिस्तार गरेका छन् । क्योडोले जापानको भूस्थानिक सूचना प्राधिकरणको पछिल्लो अनुमानलाई उद्धृत गर्दै, वाजिमा शहरको केन्द्रमा भुइँचालोको क्रममा ठूलो आगलागी भएपछि ४।५ फुटबल मैदान बराबरको करिव ४८ हजार वर्ग मिटर क्षेत्रफल नष्ट भएको छ । १० भन्दा बढी स्थानमा पहिरोका कारण सडक अवरुद्ध भएको अवस्थामा अत्यावश्यक सामग्रीको डेलिभरी चुनौती बनेको छ । सोमबार इशिकावाको नोटो क्षेत्रमा ७.६ म्याग्निच्युडको ठूलो भूकम्प गएको थियो । जापान मौसम विज्ञान एजेन्सीले आधिकारिक रूपमा यसलाई २०२४ नोटो प्रायद्वीप भूकम्पको नाम दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *