माध्यामिक तहमा मदरसा शिक्षाको पढाइ गर्नुपर्ने मुस्लिम समुदायको माग

सेयर गर्नुहोस्

२४ पौष,काठमाडौं । मुस्लिम समुदायका अगुवाहरुले माध्यामिक तहमा मदरसा शिक्षाको पढाइ हुनुपर्ने माग गरेका छन् । सोमवार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको सम्बन्धमा संशोधन प्रश्ताव राख्दै मुस्लिम समुदायका अगुवाहरुले माध्यामिक तहमा मदरसा शिक्षाको पढाइ हुनुपर्ने बताएका हुन् । उनीहरुले परम्परागत धारका विद्यालयहरुका लागि भिन्दै परम्परागत शिक्षा बोर्ड गठन गर्न माग गरेका छन् । सो बोर्ड अन्तर्गत गुरुकुल महाशाखा, मद्रसा महाशाखा र गुम्बा महाशाखाको व्यवस्था गर्नुपर्नेमा जोड दिइएको छ । बैठकमा बोल्दै मद्रसाका प्रतिनिधि मोहम्मद निजामुद्दिनले मद्रसा शिक्षाको हकमा अरबी तथा धार्मिक विषयको माध्यम भाषा अरबी र उर्दु हुनुपर्ने बताए । उनले सार्वजनिक शैक्षिक गुठी अन्तर्गतका विद्यालयको व्यवस्थापन समितिको गठन विद्यालयको आन्तरिक कार्यविधि अनुरुप गठन हुने व्यवस्था गर्नुपर्ने पनि बताए । त्यस्तै परम्परागत शैक्षिक धारका सार्वजनिक शैक्षिक गुठिहरु गाभ्नुपर्ने अवस्था आएमा समान किसिमको विद्यालयमा मात्र गाभ्न सकिने व्यवस्था गर्नुपर्ने उनको भनाई छ ।

त्यस्तै मदरसामा प्रधानाध्यापकको नियुक्ति गर्दा मुस्लिम समुदायकै व्यक्तिलाई नियुक्त गर्नुपर्ने बताए । त्यसैगरी मदरसा शिक्षकको हकमा मदरसाबाट शिक्षा प्राप्त गरेका शिक्षकहरु आल्मियत कक्षा उत्तिर्ण गरेकोलाई स्नातक र फजिलत कक्षा उत्तिर्ण गरेकोलाई स्नात्तोकत्तर सरहको मान्यता दिनुपर्ने पनि उनले बताए । मदरसाका अर्का प्रतिनिधि नजरुद्द हुसेनले स्थानीय तहले मद्रसाको परीक्षाका लागि अयोग्य मान्छेहरुलाई प्रश्नपत्र बनाउने र परीक्षण गर्न दिँदा समस्या परेको बताए । उनले सो कामको लागि मदरसाको प्रतिनिधिहरुलाई राख्नुपर्ने बताए । उनले आफूहरुको धार्मिक पुस्तक अरबी भाषामा भएकोले अरबी भाषामा अध्ययन गर्न सकिने व्यवस्था गर्नुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *