युवालाई स्वदेशमै रोजगारीको पर्याप्त अवसर दिन सरकार क्रियाशील छ : प्रधानमन्त्री दाहाल

सेयर गर्नुहोस्

१९ वैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले युवा जनशक्तिको पलायन रोक्नका लागि स्वदेशमै रोजगारीको पर्याप्त अवसर दिन सरकार क्रियाशील रहेको बताएका छन् । १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना दिँदै प्रधानमन्त्री प्रचण्डले स्वदेशमै रोजगारीको पर्याप्त अवसर नभएसम्म वैदेशिक रोजगारीलाई थप सुरक्षित, व्यवस्थित तथा मर्यादित बनाउनुपर्नेसमेत बताएका छन् ।‘नेपाल सरकारले श्रमिकहरूको हितरक्षालाई केन्द्रमा राख्दै विदेशमा रहेका नेपालीहरू, सरकारी, अर्धसरकारी र सामाजिक क्षेत्रमा क्रियाशील श्रमिकहरूका निम्ति योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गरी प्रभावकारी कार्यान्वयनसमेत गरिरहेको छ’, उनले भनेका छन् ।

साथै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा उत्पादन र रोजगारीलाई प्राथमिकता दिएर श्रमको सम्मान, उत्पादकत्व वृद्धि र रोजगारी सिर्जना गर्न सरकार गम्भीर रुपमा लागेको प्रधानमन्त्री प्रचण्डले उल्लेख गरेका छन् । सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाइँदै आइएको छ । उक्त आन्दोलनको बलमा सन् १८८९ मा फ्रान्सको पेरिसमा भएको विश्वका श्रम संगठन एवं श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियो । त्यस यता सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन थालिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *