११ असार, काठमाडौँ । पारिवारिक विवादको कारण टाउकोमा बाँसको मुँगडी प्रहार गरी आफ्नै बहिनीको हत्या गरेको आरोपमा रौतहटको परोहा नगरपालिकाका युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा परोहा ८ नरकटीया गाउँका २२ वर्षीय दीपेन्द्र कुमार राम रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छन् । राममाथि ज्यान सम्बन्धी कर्तब्य ज्यान मुद्दा दायर गरी जिल्ला अदालत गौरबाट म्याद थमाएर थप अनुसन्धान भइरहेको प्रवक्ता गिरीले जानकारी दिएकी छिन् ।
आइतबार बिहान ३ बजेर ४० मिनेटमा घरायसी विवादको कारण रिसमा दीपेन्द्रले आफ्नै बहिनी २० वर्षीया तेतरी कुमारी रामको टाउकोमा बाँसको मुँगडी प्रहार गरेका थिए । गम्भीर अवस्थामा घाइते भएकी बहिनी रामलाई तत्कालै उपचारको लागि नारायणी अस्पताल बिरगञ्ज लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहट द्वारा जारी सूचनामा उल्लेख गरिएको छ । मृतकको शव पोस्टमार्टम भएर पीडित परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।