११ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाकाली नदीपूर्वका लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितका भूमि नेपालकै हुन् भन्ने कुरामा कुनै दुई मत नरहेको बताएका छन् । प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा परराष्ट्र मन्त्रालयको मन्त्रालयगत बजेटबारे सांसदहरूका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले महाकाली पूर्वका सबै भूगोल नेपालको हो भन्ने कुरामा सरकार दृढ र स्पष्ट रहेको उल्लेख गरेका हुन् ।
२०७७ असार ४ गते संविधान संशोधनका क्रममा अनुसूची ३ मा रहेको निशान छाप अद्यावधिकाका लागि हामीले राष्ट्रिय एकता देखाएका थियौँ’, उनले भने, ‘१८१६ को सुगौली सन्धी बमोजिम लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितका महाकाली पूर्वको भूगोल नेपालको हो भन्ने कुरामा हामी दृढ छौँ ।’
उनले सन् १९५० को शान्ति तथा मैत्रीसहित अन्य सन्धीहरूअनुसार सीमासम्बन्धी विषयलाई समाधान गर्ने कुरा भारतसँग भएको पनि बताए । ‘मैले भारत भ्रमणका क्रममा सीमा लगायत संयन्त्रलाई सक्रिय बनाई यी समस्या समाधान गर्न भारतीय प्रधानमन्त्रीलाई भनेको छु । यसमा भारतले पनि तयार छौँ भनेको छ’, उनले भने, ‘नेपाल(भारत सीमामा सीमास्तम्भ राख्न दुई देशको संयन्त्रस्तरीय सातौँ बैठकका लागि कुरा भएको छ ।’